INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल बन्दका दिन ट्याक्टरमा आगजनी, फेला पारिएका बमहरू डिस्पोज

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको बन्दको प्रभाव प्रदेश ३ का जिल्लामा छिटफुट रूपमा देखियो ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार रामेछापको मन्थली नगरपालिका-१, बसपार्क नजिकै बन्दको एकदिन अघि असार ९ गते  राति करिब २ बजेसीलिण्डर बम विष्फोट भएको छ ।

उक्त बम विष्फोटमा कुनै किसिमको क्षति भने नभएको जिल्ला प्रतिनिधि पथिकले बताए । बन्दका कारण जिल्लाका निजी विद्यालयहरू बन्द रहेका छन् भने सार्वजनिक सवारीका साधनको चाप अत्यन्तै कम रहेको छ ।

इन्सेक जिल्ला प्रतिनिधि सितारामा अधिकारीका अनुसार नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ ।

असार १० गतेको बन्दलाई प्रभावकारी बनाउने भन्दै बुङ्चुङ्मा बिहानै अपरिचत व्यक्तिहरूको समूहले ट्याक्टरमा आगजनी गरेको छ ।

उक्त समूहले ट्याक्टर चालक सहित अर्को एक जनाको मोबाइलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रतिनिधि अधिकारीले बताएका छन् ।

पृथ्वी राजमार्गको नौ किलो र कालुपाण्डे मार्गको कुम्पुरमा राखिएका बमहरू सेनाले निष्कृय पारेको उनले जनाए ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रनिनिधि नातिबावु धितालका अनुसार नेपाल बन्दको दिन जिल्लामा रहेका सबै यातायातका साधनहरू र विद्यालयहरू ठप्प भएका छन् ।

बन्दको प्रभावले जिल्लाका ३० हजार ७ सय ७४ जना बालवालिकाको पढाइ प्रभावित भएको । उनका अनुसार विद्यालय बन्द हुँदा बालबालिकाहरूको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय एकाईका प्रमुख कृष्ण सुवेदीले बताएका छन् ।

बन्दको क्रममा अन्य अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताएका छन् ।

इन्सेक काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार सर्वसाधारणलाई त्रास फैलाउने उद्देश्यले किर्तिपुरको नयाँबजारमा प्लाष्टिकको झोला भित्र माटो हाली राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा असार ९ गते मध्यरातमा प्रेसर कुकर बम भेटिएको थियो ।

उनका अनुसार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको एक दिन अघि विदुर नगरपालिका-९ विजुरास्थित मेयर पण्डितको घरको प्रवेशद्वार अगाडि प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

उक्त बम असार १० गते बिहान नेपाली सेनाको जवरजङ्ग गणको बम डिस्पोजल टोलीले निष्कृय पारेका छन् ।

नेकपाका कार्यकर्ताले उक्त बम राखेको आशङ्का स्थानीय प्रशासनको छ । बन्दको कारण जिल्लाको शैक्षिक संस्थाहरू तथा सार्वजनिक यातायत ठप्प भएका छन् ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार नेपाल बन्दको बेला पारेर बन्द कर्ताहरूले सर्वसाधारणमा त्रास फैलाउन १० गते बिहान ६ बजे हेटौँडा उमनपा-१९ नेवारपानीमा पुर्वपश्चिम राजमार्गमा गुडिरहेको ट्रकलाई लक्षित गरेर पेट्रोल बम हान्ने प्रयास गरेपनि सफल नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिँहले जानकारी दिए ।

अन्य

भिडियो