नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ५ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको जनाएको छ ।
गङ्गादेब गाउँपालिका इञ्चार्ज सन्दिप वली, माडी गाउँपालिका इञ्चार्ज श्याम बुढा, स्थानीय नेताहरू देवबहादुर ओली ‘दिनेश’ र गणेश मगरलाई माडी गाउँपालिका–२ फेदिखोलाको एक घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो ।
यसैगरी लिबाङमै चिया पसल गर्दै आएका देउराम सुनारलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सुनारलाई हिरासतमा बसेका नेताहरूलाई चिया पुर्याउन गएको बेला गिरफ्तार गरेको हो । सुनारमाथि विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई सहयोग गरेको आरोप छ ।
अरोपितहरूको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काले बताए ।