INSEC Online

📅 २०८३ जेष्ठ २१

अनुदानको खाद्यान्न बिच बाटोमै विक्री, भल पसेर गोदाममा कुहियो

नेपाल खाद्य संस्थान सोरुकोट डिपो र कालै विक्री केन्द्रका लागि ठेकेदारमार्फत ढुवानी गरी पठाएको चामल बिच बाटोमै विक्री गरिएको भेटिएको छ भने केही चामल गोदाम राखिएको स्थानमा कुहिएको पाइएको छ ।

नेपाल खाद्य संस्थान शाखा कार्यालय, गमगढीबाट सोरुकोटका लागी पठाइएको चामल सोरु गाउँपालिका–८ बाटै विक्री हुने गरेको स्थानीय बताउँछन् ।

सोरु गाउँपालिकाको लागि सोरुकोट डिपो र कालै विक्री केन्द्रका लागि ठेकेदार पक्षमार्फत पठाएको खाद्यान्न सोही गाउँपालिका–८ तारापानी भन्ने स्थानबाट ठेकेदारले सम्बन्धीत स्थानमा नपुर्‍याई बिचबाटोमै बेचेको भेटिएको हो ।

ठेकेदार पक्षले खाद्य संस्थानका डिपोमा नपुर्‍याई बिचबाटोमै मनोमानी रूपमा चामल विक्री गरेपछि स्थानीयबासीले अनुदानको चामल नपाएको गुनासो रहेको छ ।

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको सो चामल ठेक्कामार्फत् डिपोमा वर्षेनी ल्याउने गरिएपनि ठेकेदारको मनोमानीका कारण अनुदानको चामल हुम्ला जिल्ला अदानचुलि गाउँपालिकाका बासिन्दालाई विक्री गर्ने गरेका स्थानीयको आरोप छ ।

अनुदानको चामल बाटैमा बिक्री भएपछि सोरु गाउँपालिकाबासीलाई भने चामलको अभाव रहेको छ । सोरु गाउँपालिकालाई उपलब्ध गराउँदै आएको चामल बाटोमै विक्री–वितरण हुने गरेकाले सोरुकोटका स्थानीयले अनुदानको चामल नपाएको सोरु गाउँपालिका–६ का वडा अध्यक्ष मानप्रसाद भट्टले बताए ।

खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातित् अन्नबाट दैनिक जीविका चल्दै आएको छ । सो बारेमा सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले अनुदानको चामल बाटोमा विक्री गरेकोबारे आफूलाई थाहा नभएको बताउँदै र विक्री गरेको भेटिए कारवाही गर्ने बताए ।

नेपाल खाद्य संस्थानले सोरुकोट डिपो र तारापानी वितरण केन्द्रको लागि पठाउनु पर्ने अनुदानको चामल के÷कति आयो ? भनेर जाँचबुझ गर्ने र माग गरिए बमोजिम अनुदानको चामल नआएको भए ढुँवानीको जिम्मा लिइएको ठेकेदारलाई कारवाही गर्ने अध्यक्ष शाहीले बताए ।

सोरुकोट वितरण केन्द्रका लागि चालु आर्थिक वर्षको खाद्यान्न ढुवानीको जिम्मा खाद्य संस्थान मुगु शाखाबाट विजय एण्ड टे«डर्स सप्लायर्स र खाद्य संस्थान सुर्खेतबाट शर्मा ढुवानी सेवाले जिम्मा लिएको नेपाल खाद्य संस्थानले जनाएको छ ।

कालै खाद्य विक्री केन्द्रमा ढुवानीको जिम्मा गुडविल सप्लायर्सले पाएको छ । चालु आर्थिक बर्षको लागि सुर्खेतबाट र गमगढी शाखाबाट सोरुकोट डिपोमा २ हजार २ सय र कालै विक्री केन्द्रका लागि १ हजार २ सय क्वीन्टल छुट्याइएको मध्ये सोरुकोटमा १ हजार ८ सय र कालै विक्री केन्द्रमा ७ सय क्वीन्टल भन्दा बढी ढुवानी भएको खाद्य संस्थान मुगु शाखा प्रमुख भरतराज खनियाँले बताए ।

खनियाँले खाद्यान्न बिच बाटोमा नै विक्री भएको भन्ने आफूलाई जानकारी नआएको तथा त्यसको जिम्मेवार स्वयम् ठेकेदार नै हुने बताए ।

गत जेठ ३२ गते रोपाई गर्ने क्रममा खेतमा लगाइएको पानी सोरु गाउँपालिका–८ तारापानीमा रहेको चामलको गोदामा पसेपछि चामल कुहिएको छ ।

गोदाममा रहेको १४ क्वीन्टल बराबरको अनुदानको चामल पानीको भल पसेपछि सडेको गोदाम रेखदेख गर्ने जिम्मेवारी पाएका रामचन्द्र तिरुवाले बताए ।

Photo20190620Mugu

अन्य

भिडियो