नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले जेठ १३ गते गिरफ्तार गरेको छ ।
बागचौर नगरपालिकामा सिलिन्डिर बम विष्फोट गराएको आरोपमा जिल्ला कमिटी सदस्य बागचौर नगरपालिका–१० मोख्लाका ४५ वर्षीय गिर्दल बस्नेत र सोही नगरपालिका–६ कोटवाराका २१ वर्षीय सेजन चन्दलाइ प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
सेजन चन्द हाल कपिलवस्तुको भगवानपुरमा बसोबास गर्दै आएका थिए । बन्द आह्वानको पुर्व सन्ध्यामा जेठ १२ गते राति सवा ८ बजे शारदा नगरपालिका–१५ को ठानुमारे डाँडामा सिलिन्डर बम विष्फोट भएको र सोही घटनामा संलग्न रहेको आरोपमा दुवैजनालाइ गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका दुवै जनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।