INSEC Online

📅 २०८३ जेष्ठ २१

राजधानीमा विष्फोट, ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

काठमाडौँमा भएका तीन फरकफरक विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।   विष्फोटमा परी आठ जना घाइते भएका छन् ।

जेठ १२ गते दिउँसो काठमाडौँको सुकेधारा, घट्टेकुलो र चन्द्रागिरीमा गराइएका विष्फोटमा परी तीन जनाको घटनास्थलमै र एकजनाको उपचार हुँदाहुँदै ओम अस्पताल चावहिलमा ज्यान गएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहका अनुसार सुकेधाराको ढलाने पुल स्थित सैलुनमा भएको विष्फोटमा परी घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय भने नखुलेको एसपी सिंहले जनाए ।

अन्य चार घाइतेको भने चाबहिलस्थित ओम अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सैलुन सञ्चालक जीवनकुमार ठाकुर र विप्लव नेतृत्वको नेकपा निकट नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनको मात्र परिचय खुलेको छ ।

सुकेधाराको एक सैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

घाइते विप्लव नेतृत्वको नेकपाको विद्यार्थी सङ्गठन त्रिचन्द्र क्याम्पस एकाई अध्यक्ष रविन केसी रहेको बताइएको छ ।

अनामनगरमा भएको विष्फोटमा घटनास्थलमै ज्यान गुमाएका दुई जना मध्ये एक प्रज्वल शाहीको परिचय खुलेको छ । अर्का एकको परिचय खुल्न बाँकी रहेको छ ।

चन्द्रागिरीमा तीन ओटा प्रेसर कुकर बम विष्फोट भएको छ । चन्द्रागिरीस्थित आदिनारायण इँटाभट्टामा आफैँले बोकेको बम विष्फोट हुँदा विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता घाइते भएका हुन् ।

घाइते हुनेमा चन्द्रागिरी–३ का विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएको प्रहरी जनायो ।

घटनास्थलमा प्रहरीले दुई थान मोबाइल र तीन थान सिम बरामद गरिएको थानकोट प्रहरी वृत्तका इन्स्पेक्टर भूपेन्द्र गिरीले बताए । उनीहरू चढेको बा २८ प ८१४५ को मोटरसाइकल विष्फोट भएको प्रहरीले बताएको छ ।

कोटेश्वरबाट सात जना गिरफ्तार

काठमाडौँको कोटेश्वरबाट प्रहरीले सात जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले चार ओटा प्रेसर कुकर बमसहित सात जनालाई गिरफ्तार गरेको छ । साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरू पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गिरफ्तार परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

अन्य

भिडियो