बिष्णुपुर गाउँपालिकामा सञ्चालित रतन इँटा उद्योगमा बन्धक रहेका भारत आसाम राज्य धुव्री जिल्लाका ११ वर्षीय मोहिबुल एसकेलाई सप्तरी प्रहरीले वैशाख २३ गते उद्दार गरेको छ ।
उद्धार गरिएका बालकलाई जिल्ला प्रशासन कार्यालयको पत्रसाथ श्री बाल हेल्प लाइन इटहरी सुनसरीमा संरक्षणका लागि वैशाख २३ गते नै पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।
एसपी विष्टका अनुसार बाल हेल्पलाइनले आश्रय दिई बालकलाई संरक्षणमा राख्नुका साथै पारिवारिक पुनर्मिलनको आवश्यक व्यवस्था मिलाउने छ ।
मजदुरी गर्न रतन इँटा उद्योग आएका बालकका बुवा इस्माईल एसकेले थप मजदुरहरू ल्याउने भन्दै पैसा लिएर गएपछि फर्केर नआएकाले बालक यतै रहेको उद्योगले जनाएको छ ।
आसाममा रहेका बालकका परिवारले बालकलाई सप्तरीको इँटा उद्योगमा बन्धक रहेको भन्दै विभिन्न सङ्घसंस्थालाई गुहारेपछि भारतीय सञ्चार माध्यममा घटना सार्वजनिक भएको थियो ।