हिमा गाउँपालिकाले सात ऐन, नियम र विधेयक पारित गरेको छ । गाउँपालिकाको विशेष गाउँसभाबाट वैशाख १८ गते अपाङ्ग परिचय पत्र वितरण ऐन पारित भएको हो । ऐन पारित भएपछि अपाङ्गता भएका व्यक्तिहरूले अब सहजै परिचय पत्र पाउने भएका छन् ।
सङ्घीयता कार्यन्वयन पछि महिला तथा बालबालिका कार्यालय खारेजीमा परेपछि अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्ग परिचय पत्र प्राप्त गर्न नसकेको अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले बताए ।
झण्डै दुई वर्षको अन्तरालमा अपाङ्ग परिचय पत्र वितरण नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु परेको उनको भनाई छ ।
अब स्थानीय तहले ऐन, नियम तथा कार्यविधि निर्माण गरिरहेका छन् यसले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरणमा सहजता हुने उनको बुझाई रहेको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार स्थानीय तहमा ऐन नियम कार्यविधि नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको थियो ।
‘वैशाख १८ गतेको गाउँ सभाबाट अपाङ्ग परिचय पत्र वितरण ऐन सहित सात ओटा ऐन तथा कार्यविधि पारित भएका छन् ।’–अध्यक्ष शाहीले भने ।
त्यसैगरी न्यायिक समिति ऐन, सहकारी ऐन, उपभोक्ता समिति ऐन, विपद् जोखिम ऐन, उर्जा विकाससम्बन्धी ऐन, प्रशासकीय कार्यविधि विशेष गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।