जिल्ला अदालत काठमाडौँको परिसरबाट पुनः गिरफ्तार गरिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाई गर्न माग गरिएको छ ।
पत्रकार महर्जनलाई अदालतले रिहा गरेपनि प्रहरीले पुनः गिरफ्तार गरेको विरोधमा वैशाख ९ गते पत्रकार सम्मेलन गरी क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले ध्यानाकर्षण भएको जनाउँदै रिहाईको माग गरेको हो ।
‘न्हुगु जोजोलप्पा’ पत्रिकाका प्रधान सम्पादक महर्जनलाई वैशाख ८ गते अदालतले छाडे लगतै प्रहरीले गिरफ्तार गरेको थियो ।
परिवार र पत्रकारका बीचैबाट प्रहरीले उनलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । राज्यले संविधानमा भएको स्वतन्त्रताको सम्मान र संरक्षण नगरेको भन्दै सङ्गठनका केन्द्रिय अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भुसालले जारी गरेको विज्ञप्तिमा प्रेसमाथि हुने सबै खालका हस्तक्षेपको घोर भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा महर्जनको निशर्त रिहाईका लागि जोडदार माग गर्दै रिहाई नगरे कडा आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएको छ ।