INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र स्थानीयबीच झडप हुँदा तीन जना प्रहरी र एक सर्वसाधारण घाइते

पथरीशनिश्चरे नगरपालिका–१ की २९ वर्षीया रीना बस्नेतको मृत्युको विषयमा छानविनको माग गर्दै वैशाख १० गते आन्दोलनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर र २८ सेल अश्रुग्यास प्रहार गरेको छ ।

घटनामा तीन जना प्रहरी र एक स्थानीय घाइते भएका छन् । वैशाख ७ गते बिहान नग्न अवस्थामा मृत भेटिएकी रीनाको हत्या नभई आत्महत्या भएको भन्दै प्रहरीले अनुसन्धान नगरेको भन्दै पथरीका स्थानीय वैशाख ९ गतेबाट आन्दोलित भएका हुन् ।

आन्दोलित स्थानीयले वैशाख १० गते इलाका प्रहरी कार्यालय पथरीको नागरिक सहायता कक्षमा ढुङ्गा प्रहार गरेर तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन २८ सेल अश्रुग्यास प्रहार गरेको तर हवाई फायर नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

उनले स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गर्दै प्रहरी कार्यालय तोडफोड गरेपछि नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताए ।

झडपको क्रममा स्थानीय घाइते नभएको दावी गर्दै डिएसपी श्रेष्ठले सई वीमा बिक, प्रहरी जवान रवीन्द्र मिश्र र जवान दीपक गिरी घाइते भएको बताए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाई छ ।

घटनास्थलमा रहेका पत्रकार भुपेन्द्र तिम्सिनाले भने दुई राउण्ड हवाई फायर भएको र आन्दोलनका क्रममा पथरी शनिश्चरे नपा–१ का जितबहादुर लावती घाइते भएको बताए । घाइते लावतीको उपचार पथरी अस्पतालमा भइरहेको छ ।

आन्दोलनको क्रममा स्थानीयले वैशाख १० गते शनिश्चरे नगरपालिका कार्यालय, एक नम्बर वडा कार्यालय र पथरी उद्योग वाणिज्य सङ्घको कार्यालयमा तालाबन्दी गरेको समेत पत्रकार तिम्सिनाले बताए ।

डिएसपी नवराज ढुङ्गानाको नेतृत्वको टोलीले छानविनको जिम्मा लिएपछि भने बिहानैबाट बन्द भएको यातायात साढे तिन बजेबाट खुलेको छ ।

कस्मेटीक पसल सञ्चालन गर्दै आएकी मृतक बस्नेतको राति घरबाट तल बाटोमा झरेको अवस्थामा शव फेला परेको थियो ।
उनको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र हालसम्म उतै राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो