गोदावरी नगरपालिका–५ का नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ३० वर्षीय रूप देवकरलाई भगाउन, लुकाउन सहयोग गर्दै संरक्षण दिएको आरोपमा प्रहरीले उनकी ३२ वर्षीय भाउजु सीता देवकरलाई चैत २७ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीहरूले अदालतमा ‘बयान दिनु पर्ने छ’ भन्दै घरबाट लिएर गएको भए पनि अदालतमा उपस्थित नै नगराई सिधै जिल्ला प्रहरी कार्यालयमा लगी आमा र चार महिनाको नाबलक भाइलाई हिरासतमा राखिएको सीताकी १६ वर्षीया छोरी रोशनी देवकरले बताइन् ।
पीडित परिवारले न्यायका लागि पहल गरी दिन भन्दै इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा समेत निवेदन दिएको छ ।
विप्लव कार्यकर्ता रूप देवकरलाई भगाउन र लुकाउन सहयोग गरेको भन्ने सुचनाका आधारमा प्रहरीले अनुसन्धानका लागि सीतालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
कामको सिलसिलामा गोदावरी नगरपालिका–५ स्थित भाउजुको घरमा गएको अवस्थामा इलाका प्रहरी कार्यालय, मालाखेती र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले चैत ११ गते रूपलाई गिरफ्तार गरेको थियो ।