गोदावरी नगरपालिका–५ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता ३० वर्षीय रूप देवकरलाई चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
कामको सिलसिलामा गोदावरी नगरपालिका–५ स्थित दाजुको घरमा गएको अवस्थामा इलाका प्रहरी कार्यालय, मालाखेती र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनलाई गिरफ्तार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
विगत केही वर्ष अगाडि नेकपाको कार्यकर्ताका रूपमा काम गर्दै आएको भएपनि घरायसी समस्याले गर्दा एक वर्ष अगाडि पार्टी परित्याग गरी गेटा आँखा अस्पताल अगाडि खाजानस्ताको पसल गर्दै आएको उनका भाई पुरन देवकरले बताए ।
देवकरले आफ्नो दाजु नेकपाका कुनै पनि गतिविधिमा संलग्न नभएको भन्दै तत्काल रिहाइका लागि पहल गरिदिन भन्दै इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा फागुन १२ गते लिखिन निवेदन समेत दिएका छन् ।
गिरफ्तार गरिएका देवकरलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएको पीडित पक्षले दावी गर्दै आएको भए पनि जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले घटनाका बारेमा आफूलाई जानकारी नभएको बताए ।