यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएका छन् ।
आरोपित पुरीले फागुन १९ गते ४७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई फागुन २३ गते गिरफ्तार गरेको थियो ।
वडाध्यक्ष पुरीले सुरूमा जिल्ला प्रहरी कार्यालयमा उजुरी नदिन पनि दबाब दिएको र उजुरी दर्ता भइसकेपछि घरमा आएर अनावश्यक तनाव दिने गरेको पीडित पक्षको आरोप छ ।
आरोपितका जेठो छोरा रोज पुरीले यसको बदला लिने भन्दै फेसबुकमा स्टाटस् लेखेको समेत पीडित पक्षले जनाएको छ ।
यस घटनाबारे आरोपित वडाध्यक्ष पुरीलाई सोध्दा ‘बलात्कार प्रयत्न मात्र गरेको रहेछ यसलाई यतै मिलाउन सकिन्छ भने मिलाऊँ भनेको चाहिँ हो तर धम्क्याएको होइन’ भनी इन्सेकलाई प्रतिक्रिया दिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले धम्की घटनाका बारेमा मौखिक जानकारी मात्रै आएको, लिखित उजुरी आएमा आरोपितलाई कारवाही गरिने बताए ।