बोदे बर्साइन नपा–३ की १९ वर्षीया धरमवती देवी साहले २० वर्षीय देवर सोमन साह, ५० वर्षीया सासू राजोदेवी साह र १८ वर्षीया नन्द विभाकुमारी साहविरूद्ध चैत १० गते घरेलु हिंसाको उजुरी दिएकी छिन् ।
पीडितको माइती पक्षले घटनाको तीन दिनपछि थाहा पाएर चैत १० गते उद्धार गरी ल्याएकाले जिल्ला प्रहरी कार्यालयमा बुबा हेमशङ्कर साहसँगै आएकी पीडितले उजुरीको साथै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार समेत गराउन आएको बताइन् ।
पीडितका अनुसार आरोपितहरूले चैत ७ गते कुटपिट गरेपछि कुनै निकायमा उजुरी नगरोस् भन्ने उद्धेश्यले उपचारबाट समेत वञ्चित राखी घरमा बन्धक बनाई थुनेर राखेका थिए ।
आँखा र अनुहारमा गम्भीर चोट लागेकी पीडितको चैत १० गते गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार र घाउँजाँच परीक्षण गरिएको छ ।
सामाजिक परम्परा अनुसार रामचन्द्र साहसँग ०७३ माघ १६ गते विवाहिता पीडितका सन्तान छैनन् । विवाह भएको दुई महिनामा वैदेशिक रोजगारीका लागि सउदी अरब पुगेका रामचन्द्र हालै घर आएका छन् । पीडित बोदे बर्साइन नपा–३ सारस्वरस्थित माइती घरमा विस्थापित छिन् ।