INSEC Online

📅 २०८३ जेष्ठ २१

नेविसङ्घका कार्यकर्ताद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखमाथि दुर्व्यवहार

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौडेललाई चैत १० गते नेविसङ्घका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

समूहमा आएका नेविसङ्घका कार्यकर्ताहरू कार्यकक्षमा आएर नै आफूमाथि दुर्व्यवहार गरेको प्रमुख पौडेलले आरोप लगाए ।

प्रमुख पौडेलमाथी मोसो दलेलगत्तै नेविसङ्घ, डोटीले नौ बुँदे प्रेस विज्ञप्तिसमेत जारी गरेका थिए । पौडेलले भवन निर्माण तथा शौचालय मर्मत गर्दा १० प्रतिशत कमिशन लिने गरेको, व्यवस्थापन समितिको अधिकार मिचेर करार शिक्षक नियुक्ति गरेको, करार शिक्षक नियुक्ति गर्दा चार महिना बारबरको तलब घुसलिने गरेको, राजस्वका रूपमा उठेको रकमको हिनामिना गरेको, एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष योग्यता र क्षमताको  आधारमा छनौट नगरी राजनीतिक कोटाका आधारमा छनौट गर्ने गरेको र कार्यालयको गाडी विदाको दिनमा प्रयोग गरी दुरूपयोग गरेको नेविसङ्घका पुर्व आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझा, प्रविण ओझा, प्रकाश ठकुल्ला र विक्रम खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेविसङ्घका कार्यकर्ताहरूले आफूमाथि लगाएको आरोप गलत भएको र आफ्नो मानहानी गरेको कारण घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथी कारवाहीको माग राखी प्रमुख पौडेलले चैत १० गते नै जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख विद्यानन्द माझीले बताए ।

उनले भने–‘घटनामा संलग्न भएकाहरूको खोजी कार्य भइरहेको छ । आरोपितहरूलाई कानुन अनुसार कारवाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भ्रष्टाचारजन्य गतिविधिमा संलग्न कर्मचारीलाई कारवाहीका लागि कानुनी प्रावधान हुदाँहुदै कार्यकक्ष मै गएर दुर्व्यवहार गर्नु निन्दनीय कार्य भएको बताए ।

उनले भने–‘प्रमुख पौडेलका विरूद्धमा समेत कहिँकतैबाट कानुनी प्रक्रियासहित उजुरी आएमा छानविन गरिन्छ र आवश्यक ठहरिएमा कानुनी कारवाही समेत हुन्छ ।’

अन्य

भिडियो