काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष व्युरोको टोलीले चैत ९ गते बिहान नौ जना विप्लव माओवादीका नेता र कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको विशेष व्यूरो, महाशाखा र काभ्रे प्रहरीको संयुक्त टोलीले उनीहरूलाई गिरफ्तार गरेको हो ।
खानीखोला गाउँपालिका–७ मिल्चेमा बिहान साढे ४ बजे स्करपियो गाडी जाँच गर्नेक्रममा बा.१७ च.४८९३ नं को गाडीमा रहेका विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्य कमाण्डर हेमन्तप्रकाश ओली ‘सुर्दशन’ लगायत नौ जना गिरफ्तारीमा परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका अनुसार ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का गिरफ्तारीमा परेका हुन् ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरीले काठमाडौँस्थित टेकुमा लगेको बताइयो । यसअघि विप्लव समूहका चार जना कार्यकर्तालाई चैत ५ गते बिहान गिरफ्तार गरेको थियो ।
विप्लवले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विष्फोट भएको प्रहरीको निष्कर्ष छ ।
विष्फोटमा एक जनाको मृत्यु भएको थियो । ओली विप्लव समूहका तेस्रो नम्बरका नेता हुन् । ओलीले नख्खु बम विष्फोटको जिम्मेवारी लिएका थिए ।
सरकारले फागुन २८ गतेबाट विप्लव समूहलाई प्रतिवन्ध लगाएर आपराधिक क्रियाकलाप नियन्त्रणका लागि परिपत्र गरेको थियो ।