INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार कार्यालय भोजपुरको भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पको कारण भवन जीर्ण बनेको हो । भवन चारैतिर जीर्ण हुदाँ समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

भवन जीर्ण बनेपछि भवनभित्रका सबै कोठाहरू प्रयोग हुन सकेका छैनन् । कैदीहरूका लागि पनि कम्पाउण्ड पनि पर्याप्त नभएको कारागारले जनाएको छ । त्यस्तै कैदीहरूलाई सुत्न बस्न समस्या छ ।

कैदीले शौचालयको प्रयोग गर्न समेत लाइन लाग्नुपर्ने बाध्यता छ । भवन जीर्ण भएका कारण कतिबेला के दुर्घटना हुने हो भन्ने समेत आँकलन गर्न नसकिने अवस्था रहेको कारागार प्रमुख खगेन्द्र अधिकारीले बताए ।

कारागारमा कैदीहरूको सङ्ख्या पनि क्षमताभन्दा बढी रहेको छ । कारागारको कैदी राख्ने सक्ने क्षमता ३० पुरूष र १० महिला गरी ४० भए पनि अहिले सो ठाउँमा १ सय ३ जना कैदी रहेका छन् । जीर्ण कारागार भवनलाई मर्मत गरी कैदीबन्दी राख्नुपरेको अधिकारीले बताए ।

अन्य

भिडियो