पुथा उत्तरगङ्गा गाँउपालिका–११ की ३९ वर्षीया जयपुरी बुढामगरलाई सोही वडाका अध्यक्ष ३६ वर्षीय जयकुमा बुढाले कुटपिट गरेको भन्दै फागुन ९ गते विज्ञप्तिमार्फत स्थानीय महिलाहरूले अध्यक्षलाई कारबाहीको साथै राजीनामा माग गरेका छन् ।
आफैँले मतदान गरेर चुनेका जनप्रतिनिधिबाट असुरक्षित भएको भन्दै उक्त वडाका महिलाहरूले प्रेस विज्ञप्तिमार्फत वडा अध्यक्षको राजीनामा माग गरेका हुन् ।
सामुदायिक महिना भवन निर्माण समिति, सम्पूर्ण तकसेरावासी महिला र पारालिगल महिला समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै वडाध्यक्षमाथि कडाभन्दा कडा कारबाहीको मागसमेत गरेका छन् ।
शौचालय निर्माणमा भएको विवादमा फागुन ५ गते वडा अध्यक्षले हेलमेट प्रहार गरेको पीडित महिलाका भाइ लक्ष्मण बुढाले बताए ।
उनले साही दिन इलाका प्रहरीमा उजुरी दिएको र आरोपितलाई गिरफ्तार नगरेपछि फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते रूकुमकोट अस्पतालमा भयो भने उपचार फागुन ५ गते स्थानीय मेडिकलमा भएको पीडित पक्षले जनाएको छ ।
आरोपित वडा अध्यक्ष बुढाले उपभोक्त समिति गठन नगरी काम गरेको आरोप लगाएका छन् । उनले आफुले कुटपिट नगरेको र कामको बारेमा छलफल गर्दा उल्टो महिलाले आफूलाई ढुङ्गा प्रहार गरेको बताए ।