बागलुङ, पर्वत र म्याग्दीका कारागारको क्षमता बिस्तारको लागि भन्दै बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको पहल थालेका छन् ।
बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको बैठकले तीनओटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङमा महिला बन्दी गृह र म्याग्दी तथा पर्वत जिल्लामा पुरुष बन्दी गृह बनाउने निर्णय गरेको छ ।
यो निर्णय गृह मन्त्रालय र कारागार विभागमा पठाइने र अनुमति प्राप्त भएपछि कार्यान्वयनतर्फ लैजाने खरेलले बताए ।
बागलुङलाई महिला बन्दीगृहको रूपमा विकास गर्दा ५० जना क्षमताको निर्माण हुने प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।
२५ जनाको क्षमता रहेको जिल्ला कारागार बागलुङ हाल ‘घ’ श्रेणीमा रहेको छ । कारागारमा ९५ जना पुरूष कैदीबन्दी र १४ जना महिला कैदीबन्दी सँगै एक जना आश्रित नाबालिका गरी १ सय १० जना रहेको कारागारका प्रमुख मोहन पौडेलले बताए ।
त्यस्तै २०४३ सालमा निर्माण भएको ‘घ’ श्रेणीको जिल्ला कारागार पर्वतको क्षमता २५ जना कैदीबन्दी राख्ने रहेको छ । कारागारमा हाल ८८ पुरुष र चार जना महिला गरी ९२ जना कैदीबन्दीहरू रहेका छन् ।
त्यस्तै २०५२ सालमा निर्माण भएको ‘घ’ श्रेणीको जिल्ला कारागार म्याग्दीको क्षमता ३२ जना रहेको छ । हाल करागारमा सात जना महिला र ८४ पुरुष गरी ९१ जना कैदी बन्दी रहेका छन् ।
कारागारमा दुई आश्रित बालबालिका रहेका छन् । तीनओटा जिल्लामा कुल २४ कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेका छन् ।
कारागारको क्षमता भन्दा बढी कैदीबन्दीहरू एकै ठाउँमा राख्दा समस्या हुने गरेको भएपनि कारागार गाभेर मात्र समस्याको समधान नहुने कारागार प्रमुखहरूको भनाई छ ।
फरकफरक जिल्लाका फरक गतिविधिमा संलग्नहरूलाई एकै ठाउ“मा राख्नु थप चुनौती हुने जिल्ला कारागार म्याग्दीका प्रमुख राजेन्द्र शर्माले बताए ।
‘कारागारको भौतिक पूर्वाधार कमजोर हुँदै गएको छ ।’–शर्माले भने–‘कैदीबन्दी व्यवस्थापनको लागि सबैभन्दा पहिले कारागारको भौतिक पूर्वाधार र साधान स्रोतको व्यवस्थापन हुनुपर्छ ।’
‘जिल्ला कारागार म्याग्दीमा सामान्य सवारी साधनको सुविधा छैन ।’–शर्माले भने–‘कारागार गाभेर के गर्ने ? बागलुङ र पर्वत जिल्लाका कैदी बन्दीलाई अदालत उपस्थित कसरी गराउने ?’
त्यस्तै जिल्ला कारागार पर्वतका प्रमुख प्रकाश पौडेलले पुरुष–पुरुष एक जिल्ला र महिला– महिला एक जिल्लामा राख्दा थोरै ठाउ“मा धेरै कैदी बन्दी राख्न सकिए पनि कारागारहरूको अहिलेकै भौतिक संरचना र सुविधा व्यवस्थापन गर्न गा¥हो हुने बताए ।
तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, अर्जुनबाण गण घोडाबाँधेका प्रमुख सेनानी भुवनराज देवकोटा, तीनओटै जिल्लाका प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखको संयुक्त बैठकले सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।