INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमपातले सडक अबरूद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव

गत माघ महिनाको ८ गतेदेखि पाँच पटक परेको भारी हिमपातले नाग्मा गमगढी सडक खण्ड अवरूद्ध भएपछि सरोकारवालाले सडक नखुलाउँदा जिल्लामा दैनिक उपभोग्य र विकास निमार्णका सामग्रीको अभाव हुन थालेको छ ।

पाँच पटक परेको भारी हिमपातले २३ दिनदेखि अवरूद्ध भएको नाग्मा गमगढी सडक खण्ड अन्तर्गत जुम्ला जिल्लाको बुलबुलेदेखि मुगुको घुच्ची लेखको सातमोड सडक खण्डमा जमेको हिउले सडक अवरूद्ध भएपछि फागुन २ गतेसम्म सडक डिभिजन कार्यालय जुम्लाले सडक नखुलाउँदा सर्वसाधरणले दैनिक उपभोग्य र विकास निमार्णका सामग्रीको अभाव खेप्नु परेको हो ।

हिमपातले यो सडक खण्ड अवरूद्ध हुँदा सबैभन्दा बढी ग्यास सिलिन्डर, डिजेल, पेट्रोल, खाने तेल  र विकास निर्माणका सबै सामग्री अभाव भएको छ ।

कामना स्टोरका प्रोप्राइटर चन्द्र सिंह रावतका अनुसार आफ्नो पसलबाट मात्र महिनाको १ सय ५० भन्दा बढी ग्यास सिलिन्डर ग्राहकलाई पु¥याउनुपथ्र्यो ।

रावत जस्तै सदरमुकाम गमगढीमा ६ जनाभन्दा बढी ब्यपारीले ग्यासको विक्री वितरण गर्थे अहिले कुनै ब्यपारीसँग ग्यास छैन ।

खाने तेल, पेट्रोलदेखि स्टोरमा रहेका अन्य दैनिक उपभोग्य सामग्री पनि सकिन थालेकाले सम्बन्धित निकायले सडक नखुलाउदा यसको मार उपभोक्ताले खेप्नु परेको व्यापारीहरूले बताएका छन् ।

सडक यातायातको सुविधा भएसँगै अहिले बजार र आसपासका सर्वसाधरणले दाउराको सट्टा खान पकाउन ग्यास प्रयोग गर्ने गरेका छन् ।

‘पहिले जङ्गलबाट आफैँले वा अरूबाट किनेको दाउराले भान्सा चलाउने गरेको भएपनि स्थानीय वन उपभोक्ता समिति र रारा राष्ट्रिय निकुञ्जले दाउरा ल्याउन दिँदैनन् । बजारमा ग्यासका सिलिन्डर कतै छैन । दाउराको जोहो गरेर भान्सा चलाएपनि बजारमा अन्य दैनिक उपभोग्य सामग्री सहजै पाउन सकिएन ।’–छाँयानाथ रारा नपा–२ का हरिचन्द्र बुढाले भने ।

अन्य

भिडियो