अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन ०८२ तयारीका लागी जिल्ला सुरक्षा समितिले सिरहा जिल्लास्थित मतदान स्थलहरुको अनुगमन गरी सुरक्षा विश्लेषण तथा मूल्याङ्कनको आधारमा १ सय ५४ ओटा मतदान स्थललाई अति संवेदनशील मतदान स्थलको रुपमा निर्धारण गरेको छ ।
सिरहा जिल्लामा रहेको चार वटा निर्वाचन क्षेत्र अन्तर्गत सुरक्षा संवेदनशीलताको आधारमा समितिले कुल २ सय २३ मतदान स्थललाई तीन श्रेणीमा वर्गीकरण गरेको हो । जस अनुसार १ सय ५४ अति संवेदनशील, ६२ मतदान स्थल संवेदनशील र ७ ओटा मतदान स्थल सामान्य श्रेणीमा राखिएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरु अवलम्बन गरिएको भन्दै नेपाली सेना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिने बरालले जानकारी दिए ।