कञ्चनरुप नपा–६ घोघनपुरकी ३० वर्षीया इशुकुमारी चौधरीलाई हिंसा गरेको आरोपमा ५५ वर्षीय ससुरा बच्चुलाल चौधरी, ५२ वर्षीया सासू चन्द्रिकादेवी चौधरी, ३० वर्षीया देवरानी रिसिका चौधरी र २७ वर्षीया नन्द निर्मलादेवी चौधरीविरूद्ध माघ २८ गते अदालतमा घरेलु हिंसाको उजुरी दिएकी छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपमा माघ १४ गते र कञ्चनरूप नगरपालिकाको न्यायिक समितिमा माघ २२ गते उजुरी दिएपनि कुनै सुनवाइ नभएको भन्दै पीडितले जिल्ला अदालतमा उजुरी दिनु परेको बताइन् ।
पीडितका पति घर बाहिर भएका बेला घरायासी विवादमा ससुराको आदेशमा माघ १४ गते आरोपितहरूले गरेको कुटपिटबाट दाँत टुटेको र शरीरका विभिन्न अङ्गमा चोटपटक लागेको पीडितले बताइन् ।
पीडितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । पीडितको घाउँजाँच परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरूपमा माघ १४ गते गरिएको छ ।