प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसले बालबालिकालाई प्रयोग गरेको फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । साइपाल गाउँपालिका–४ धुलीमा स्थानीय नेता कार्यकर्ताहरूले प्रचार अभियान चलाइरहेका बेला बालबालिकाको हातमा पार्टीको झण्डा थमाएर फोटो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीरमा स्कुले उमेरका देखिने बालबालिकाले पिठ्युमा झोला र काँग्रेसको झण्डा बोकेको दिएको छ । स्थानीयस्तरमा उक्त गतिविधिप्रति आलोचना सुरु भएको छ । निर्वाचन आचारसंहितामा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाश रसाइली ‘स्नेही’ बझाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएको छ । यस विषयमा आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले आफूलाई यसबारे औपचारिक जानकारी नआएको बताउनुभयो । यस विषयमा आधिकारिक रूपमा जानकारी आएको छैन ।’ उहाँले भन्नुभयो, अब बुझेर आवश्यक कदम चाल्छौँ ।’
नेपाली काँग्रेस साइपाल गाउँकार्यसमिति सभापति रामबहादुर बोहरा र जिल्ला कार्यसमिति प्रवक्ता रमानन्द जोशीले पनि घटना बारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । बोहराले भन्नुभयो, ती फेक एआइ निर्मित फोटोहरू हुन् ।’ प्रवक्ता जोशीले भन्नुभयो, यदि आचारसंहिता विपरीत कार्य भएको हो भने सुधार गर्छाै । हामी बुझ्दै छौ ।’
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बालबालिकालाई निर्वाचन प्रचारमा सहभागी गराउन, प्रयोग गर्न वा राजनीतिक गतिविधिमा संलग्न गराउन निषेध गरिएको छ । स्थानीयस्तरमा भने निर्वाचनको सरगर्मी बढ्दै जाँदा आचारसंहिताको पालना प्रभावकारी रूपमा हुनुपर्ने आवाज उठ्न थालेको छ ।