INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमपातका कारण निर्वाचन सार्न स्थानीयको अनुरोध

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सार्न स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयवासीले सरकारसँग अनुरोध गरेका छन्। भारी हिमपातका कारण हुम्लाका मुख्य नाका नारा लेक र न्यालु लेक बन्द भएपछि आवत–जावत अवरुद्ध भएको भन्दै उनीहरूले कि हिउँ पन्छाएर बाटो खुलाउन वा निर्वाचन केही समय सार्न माग गरेका हुन्।

हिमाली जिल्ला हुम्लामा जारी हिमपातका कारण निर्वाचन सञ्चालन चुनौतीपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ। जाडो छल्न गाउँका धेरै नागरिक बेँसी झरेका छन् भने गाउँसम्म पुग्ने सडक हिउँले ढाकिँदा मत खस्ने सम्भावना न्यून भएको नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो। यसै कारण निर्वाचन सार्न नेपाल सरकारलाई पत्राचार गरिएको उहाँले बताउनु भयो ।

नाम्खा गाउँपालिकाले हिउँ पन्छाएर सडक खुलाइदिन सरकारसँग पत्रमार्फत आग्रह गरेको छ। साथै जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै पत्र लेखी फागुन २१ गतेको निर्वाचन केही समय पर सार्न अनुरोध गरिएको छ।

नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमी क्षेत्रमा ६ सय ६५ मतदाता रहेका छन् र त्यहाँ तीन ओटा मतदान स्थल तोकिएका छन्। तर अधिकांश मतदाता जाडो छल्न काठमाडौँ, सुर्खेत तथा भारत लगायतका स्थानमा गएकोले मतदानमा न्यून सहभागिता हुने चिन्ता व्यक्त गरिएको छ।

वडा अध्यक्ष तामाङका अनुसार उत्तरी नाम्खा गाउँपालिका–६ का तिल, जाङ र हल्जी गाउँका धेरै मतदाता हाल जिल्ला बाहिर छन्। न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै वडा नम्बर ५ अन्तर्गत पर्ने नारा लेक क्षेत्रमा पनि आवत–जावत गर्न कठिन भएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।

हिमपातकै कारण सीमा सुरक्षा प्रहरी बल बीओपी हिल्साका इन्चार्ज कृष्ण दाहालले ८ र ९ नम्बर पिलरसम्म अनुगमनमा जान समेत कठिन भएको बताए।

नाम्खा गाउँपालिका–६ को वडा कार्यालयले माघ २९ गते जिल्ला निर्वाचन कार्यालय हुम्लामा निवेदन बुझाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जानकारी दिनुभयो । उक्त पत्र सोही दिन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय हुम्लामा परिपत्र गरिसकिएको उहाँले बताउनु भयो । आयोगको निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने रोकायाको भनाइ छ।

नन्द सिंह

अन्य

भिडियो