आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा चुनावी गतिविधि तीव्र रूपमा सञ्चालन भइरहेका क्रममा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी १६ ओटा उजुरी परेका छन् तर सबै उजुरी मौखिक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचार संहिता उल्लङ्घनको १६ ओटा उजुरी परेको र त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचार संहिताको कार्यान्वयनको लागि सचेत गराइएको बताउनुभयो ।
तनहुँ क्षेत्र नम्बर २ का रास्वपाका उम्मेदवार श्रीराम न्यौपानेले केही सामुदायिक विद्यालयमा वितरण गरेको डिजिटल स्मार्ट बोर्डमा उनको तश्विर अङ्कित भएको बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताउनुभयो । त्यसबाहेक राजनीतिक दलले भिड प्रदर्शनी गरेको, झण्डाहरु धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिँडेको विषय लगायतमा उजुरी परेको लम्सालले जानकारी दिनुभयो ।