आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी जिल्ला सुरक्षा समितिले जिल्लाभरका मतदान स्थलहरूको अनुगमन पश्चात सुरक्षा विश्लेषण तथा मूल्याङ्कनको आधारमा २ सय ८ मतदान स्थल अति संवेदनशील रुपमा निर्धारण गरेको छ ।
४ वटा निर्वाचन क्षेत्र अन्तरगत सुरक्षा संवेदनशीलताको आधारमा समितिले जिल्लाका कुल २ सय ९६ मतदान स्थललाई तीन श्रेणीमा वर्गीकरण गरेको जनाएको छ । जस अनुसार २ सय ८ मतदान स्थल अति संवेदनशील, ८४ मतदान स्थल संवेदनशील र ४ मतदान स्थल सामान्य श्रेणीमा राखिएको छ ।
सम्भावित सुरक्षा चुनौती, विगतका घटनाक्रम, भौगोलिक अवस्था तथा पहुँचको अवस्थालाई मध्यनजर गर्दै उक्त वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत युगेश कुमार यादवले जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति तथा जनशक्ति परिचालनको तयारी भइरहेको समेत यादवले बताए ।