निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा कालिकोटको रास्कोट नगरपालिका स्थित कालाशिल्ला माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्र नगरपालिका स्थित चुलीमालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले दुवै जना शिक्षकलाई आचारसंहिता उल्लंघन गरेको भन्दै ०८२ माघ १८ गते स्पष्टीकरण सोधेको हो ।
चौलागाईलाई विद्यालय बन्द गरेर नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभामा सहभागी भएको र शाहीलाई एकीकृत मालेका उम्मेदवारलाई विद्यालयभित्र निर्वाचन कार्यक्रम गर्न दिएको आरोप लगाउँदै आचारसंहिता उल्लंघन गरेकोबारे तीन दिनभित्र लिखित जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ ।
आचारसंहिता अनुगमन अधिकृतको कार्यालयका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले दुई विद्यालयका प्रध्यानाध्यापकलेआचारसंहिता विपरीत काम गरेको गुनासो आएपछि स्पष्टीकरण सोधेको बताउनु भयो ।
कालाशिल्ला माविका प्रध्यानाध्यापक चौलागाईले ०८२ माघ ४ देखि निर्वाचन आचारसंहिता जारी भएकोबारे आफू जानकार रहेको भन्दै विद्यालयमा आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गर्दै माघ १८ गते नै लिखित पत्र पठाउनुभएको छ ।
उहाँले बेलुकी ४ बजेपछि शिक्षक कर्मचारीका पेशागत माग नेपाली कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रमा राख्नका लागि सुझाव दिन आफू कार्यक्रममा गएको दाबी गर्दै आफूले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगरेको बताउनु भयो ।
त्यस्तै, चुलीकालिका माविका प्रध्यानाध्यापक शाहीले उम्मेदवार विद्यालय बाहिरको बाटो हुँदै गाउँ जाने क्रममा विद्यालयको भवन अभाव लगायतका समस्या सुनाउन हाता बाहिर होस्टेलमा भेटघाट गरेको भन्दै आचारसंहिता उल्लंघन नगरेको दाबी गर्नुभयो ।