जिल्ला कारागार रामेछापका कैदीबन्दीहरू आयआर्जनको काममा लागेका छन् । यसले गर्दा उनीहरूलाई जेलमा समय बिताउन सजिलो भएको छ भने जेलमानै बसेर आयआर्जन पनि गरि रहेका छन् ।
जेलका कैदीबन्दीहरूले इच्छा अनुसारको बाँसको मुडा, ढाकाका कपडा तथा टोपी र उनका टोपीलगायतका हाते बुनाइका काम गरी आय आर्जन गरिरहेका जिल्ला कारागार रामेछपाका प्रमुख प्रमोद घिमिरेले बताए ।
घिमिरेका अनुसार कारागारमा १० देखि १२ जनाले मुडा बनाउने काम गरिरहेका छन् । त्यसैगरी केहीले ढाका बुन्ने काम गर्दछन् । केहीले उनका टोपीलगायतका हाते बुनाइको काम गर्ने गरेका छन् ।
कैदीबन्दीहरूको माग अनुसार जेल प्रशासनले समयसमयमा तालिम दिने गरेको छ । सोही तालिम सिकेपछि उनीहरूले आयआर्जनका काम गर्ने गरेको घिमिरेले बताए ।
जेलमा गरेका काबाट गरेको आम्दामी उनीहरूले घरमा समेत पठाउने गरेका छन् । यसले परिवार र जेलमा रहेका कैदीबन्दी बिचको सम्बन्ध सुधार्नसमेत सहयोग पुगेको घिमिरेले बताए ।
रामेछाप कारागारमा बनाइने बाँसको मुडाको बजार पनि राम्रो छ । यहाँ बनाइएको मुडा बलियो हुने भएकाले यसको बजार राम्रो रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव जगन्नाथ दाहाल बताउँछन् । बजारमा कारागारको मुडाको मुल्य ७ देखि ८ सय रुपियाँ रहेको छ ।
त्यस्तै रामेछाप कारागारमा बुनेको ढाकाको टोपीको पनि राम्रो बजार छ । यहाँ बुनेको ढाकाटोपी बजारमा ५ सय रुपियाँसम्ममा विक्री हुने गर्दछ ।
‘घ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता १ सय जनाको छ । अहिले कारागारमा २ सय ५० भन्दा बढी कैदीबन्दीहरूलाई राख्ने गरिएको छ ।


(कारागारका कैदीबन्दीले उत्पादन गरी बिक्रीका लागि मन्थलीस्थित बजारमा राखिएका सामग्री)