आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिले ०८२ माघ ६ गते उम्मेदवारी दर्ता गरेका छन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट पाँच, नेकपाबाट चार, रास्वपाबाट चार र राप्रपाबाट तीन गरी १६ जना महिलाहरु प्रत्यक्ष तर्फको उम्मेदवार बनेका छन् ।
इन्सेक मकवानपुर प्रतिनिधि मन्जिता मैनालीका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दलका तर्फबाट २९ जना र स्वतन्त्रतर्फ १५ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं १ मा २३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १३ जना विभिन्न राजनीतिक दलका र १० जना स्वतन्त्र तर्फका उम्मेदवार छन् । त्यस्तै क्षेत्र नं २ मा राजनीतिक दलहरुबाट १६ जना र स्वतन्त्रतर्फ पाँच जना गरी २१ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, माओवादी, मंगोल नेशनल अर्गनाइजेशन, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, आम जनता पार्टी र नेशनल रिपब्लिक पार्टीले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, नेकपाबाट विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, राप्रपाबाट दीपक बहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेज प्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट बुद्ध लामा, नेकपा एमालेबाट महेश बर्तोला, नेकपाबाट लवशेर विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, राप्रपाबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, श्रम संस्कृति पार्टीबाट युनिश लामा उम्मेदवार बनेका छन् । स्वतन्त्रतर्फ क्षेत्र नम्बर १ मा १० जना र क्षेत्र नम्बर २ मा ५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
इन्सेक प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र क्षेत्र रहेको रसुवामा १२ जनाले मनोनयन दर्ता गरेका छन् । रसुवा जिल्लामा नौ राजनीतिक दल र तीन स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मोहन आचार्य, नेकपा एमालेबाट प्रेमबहादुर तामाङ, नेपाली कम्युनिष्ट पार्टीबाट माधव लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरिप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दाबासाङ्बो तामाङ, कम्युनिष्ट पार्टी (माओवादी) बाट होमप्रसाद आचार्य र उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताउनु भयो । स्वतन्त्रतर्फबाट सागर लामा, दावामिङमर तामाङ र चित्रकुमारी देवकोटाले उम्मेदवारी दिए ।
इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र १ मा १९ जना, क्षेत्र नं २ मा २३ जना र क्षेत्र नं ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसमध्ये क्षेत्र नं १ मा चार जना, २ र ३ मा छ/छ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन् ।
सबै उम्मेदवारले आफै उपस्थित भएर मनोनयन दर्ता गराएकोमा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भने श्रीमती निकीता पौडेल वारेस राखी मनोनयन दर्ता गराएका छन् ।
इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार ललितपुरका तीन निर्वाचन क्षेत्रबाट १६ दल सहित ७४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनु भयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६ वटा राजनीतिक दलबाट तीनवटै क्षेत्रमा एक÷एक जना र २६ स्वतन्त्र गरी ७४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले जानकारी दिनु भएको छ ।
ललितपुर क्षेत्र नं.१ मा १६ ओटा दल र १२ जना स्वतन्त्र गरी २८ जना उम्मेद्ववारी दर्ता गरेका छन् । त्यस मध्ये नेपाल मजदुर किसान पार्टी र राप्रपाबाट एक जना र एकजना स्वतन्त्र गरी तीनजना महिला र २५ जना पुरुषले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत इशा सुवेदीले जानकारी दिनुभयो ।
ललितपुर क्षेत्र नं २ मा १६ ओटा दल र ७ जना स्वतन्त्र गरी २३ जनाले उम्मेद्ववारी दर्ता गरेका छन् । त्यस मध्ये नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टी नेपालबाट एक जना गरी दुईजना महिला र २१ जना पुरुषले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले जानकारी दिनुभयो ।
ललितपुर क्षेत्र नं ३ मा १६ ओटा दल र ७ जना स्वतन्त्र गरी २३ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । त्यस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीबाट एक जना र दुई जना स्वतन्त्र गरी पाँच जना महिला र १८ जना पुरुाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो ।
इन्सेक दोलखा प्रतिनिधि उद्धब पोखरेलका अनुसार एक निर्वाचन क्षेत्र रहेको दोलखामा १४ राजनीतिक दल र १९ जना स्वतन्त्र गरि ३३ जनाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्वतन्त्र तर्फका ४ महिला साथै स्वतन्त्र र राजनीतिक दलका २९ जनाले उम्मेद्धवारी दर्ता गरेका छन् ।
नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिष्ट पार्टी दोलखाबाट विशाल खड्का, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवीणकुमार थोकर, उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामा, प्रगतीशील लोकतान्त्रिक पार्टीबाट कमल खत्री, मंगोल नेशनल अर्गनाईजेसन पार्टीबाट कुमार तमाङ, जनता समाज पार्टीबाट गोपाल नेपाली, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कुमार लामीछाने, आमजनता पार्टीबाट शुक्र तमाङ, श्रमसंस्कृति पार्टीबाट हेप बहादुर थामी, नेपाल मजदुर किसान पार्टीबाट बिमला श्रेष्ठ र राष्ट्रिय परिवर्तन पार्टीबाट सुर्दशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा ३६ जना उम्मेद्वारले मनोनयन—पत्र दर्ता गराएका छन् ।
०८२ माघ ६ गते निर्वाचन अधिकृतको कार्यालयमा तिन महिला सहित ३६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै निर्वाचन क्षेत्रमा १६ वटा राजनीतिक दलका ३० जना म्मेदवार छन् भने ६ जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका सरेश नेपाल, नेपाली कांग्रेसका जंगबहादुर लामा, नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, राप्रपाका राममणी न्यौपाने, राष्टिय स्वतन्त्र पार्टीबाट भरत प्रसाद पराजुली, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दावा लामा, नेमकिपाका गितादेवी कर्माचार्य, राष्ट्रिय जनमोर्चाका दावा ग्याम्छो लामा, नागरिक सर्वोच्चता पार्टी नेपालका अशोकबहादुर श्रेष्ठ, जनता समाजवादीका पासाङ शेर्पा, आम जनता पार्टीका पासाङ तमाङ, उज्यालो नेपाल पार्टीका प्रताव लामा, श्रम सस्कृति पार्टीका फुर्वा तमाङ, मितेरी पार्टी नेपालका राजन सुन्चुरी, नेकपा(माओवादी) का समिर श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् भने स्वतन्त्रमा सानु तमाङ, सन्तकुमार तमाङ र पदमबहादुर तमाङ रहेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका शेरबहादुर तमाङ, नेपाली कांग्रेसका बंशलाल तमाङ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल, राप्रपाका गोपिकृष्ण चौलागाई, राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका कर्णविर म्यावु लामा, आम जनता पार्टीका गणेशबहादुर श्रेष्ठ, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दाव छिरिङ शेर्पा, श्रम सस्कृतिक पार्टीका भानु श्रेष्ठ, मितेरी पार्टी नेपालका महेस कुवर, राष्ट्रिय मुक्ति पार्टी नेपालका मिङमार तमाङ, नेमकिपा बाट म्हेन्दो तमाङ, उज्यालो नेपाल पार्टी बाट राम सिं तमाङ, नागरिक सवोच्चता पार्टी नेपाल बाट सेरबहादुर तमाङ, नेकपा (माओवादी) बाट सोमान लामाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेद्वारमा सुन्दर अधिकारी, बिजु श्रेष्ठ र दिपक ढकाल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उमेद्वारी दर्ता गर्ने ३६ जना उमेद्वारहरुमा ४० वर्ष मुनिका १४ जना, ४० देखि ६० वर्ष सम्म १९ जना, र ६० वर्ष भन्दा माथिका ३ जना उमेर समुह रहेका उमेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इन्सेक रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनका लागि राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर र श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगरले मनोनयन दर्ता गराएका छन् ।
नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट यमुनबहादुर बस्नेतले पनि उम्मेदवारी दर्ता गराएका छन्।साथै, तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरूमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरे रहेका छन् ।
उम्मदवारी दर्ता गर्ने मध्य एक महिला छन् । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी गराउनु भयो ।
इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार धादिङमा दुई प्रतिनिधि सभा सदस्यको निवार्चनका लागी निवार्चन आयोगमा ४८ जनाले उम्मेद्धवारी दर्ता गरको मूख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।
२०४३ सालदेखि निर्वाचनमा नियमित उम्मेदवार भएका राजेन्द्र प्रसाद पाण्डेदेखि पहिलो पटक निर्वाचनमा भाग लिने नेपाल कम्यूनिष्ट पार्टी माओवादीका कृष्ण घतानी लगायतको दलका उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट क्षेत्र नं १ मा भूमि त्रिपाठी र क्षेत्र नं २ मा धनबहादुर घलेले उम्मेद्धवारी दर्ता गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट क्षेत्र नं १ मा कृष्ण रिजाल र क्षेत्र नं २ बाट रमेश धमलाले मनोनयन दर्ता गराएका छन् । नेपाली कम्यूनिष्ट पार्टीको तर्फबाट क्षेत्र नं १ मा राजेन्द्र प्रसाद पाण्डे र क्षेत्र नं २ बाट रामबहादुर भण्डारीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
रास्वपाको तर्फबाट क्षेत्र नं १ मा आशिका तामाङ र क्षेत्र नं २ मा बोधनारायण श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । राप्रपाको तर्फबाट क्षेत्र नं १ मा गिताप्रसाद आचार्य, क्षेत्र नम्बर २ मा सुरेश रिजाल, श्रम संस्कृति पार्टीको तर्फबाट क्षेत्र नं १ मा प्रलाद सिलवाल, क्षेत्र नं २ बाट टासी लामा तामाङ, प्रलोपाको तर्फबाट क्षेत्र नं १ बाट राजन प्रसाद रेग्मी र क्षेत्र न २ बाट बिरबहादुर तामाङ, संयुक्त नागरिक पार्टीको तर्फबाट क्षेत्र नं १ मा डम्बर बहादुर लिम्बु र क्षेत्र नं २ मा देबेन्द्र गैरे, नेपाल कम्यूनिष्ट पार्टी माओवादीको तर्फबाट क्षेत्र नम्बर २ बाट कृष्ण घतानीले उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङ क्षेत्र नं १ मा ११ जना स्वतन्त्र समेत २४ जना र क्षेत्र नं २ मा ८ जना स्वतन्त्र सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
इन्सेक काभ्रे प्रतिनिधि सुमित्रा आचार्यका अनुसार काभ्रेका दुई निर्वाचन क्षेत्रका लगि ३१ जनाले राजनीतिक दलहरुबाट र ११ जना स्वतन्त्र तर्फबाट गरी कुल ४२ जनाले उम्मेद्धवारी दिएका छन् । निवार्चन क्षेत्र नं १ मा ३ जना स्वतन्त्र र १५ जना राजनीतिक दलको तर्फबाट गरी कुल १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नं २ मा ८ जना स्वतन्त्र र १६ जनाले राजनीतिक दलको तर्फबाट गरी कुल २४ जनाले उम्मेद्धवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सबैभन्दा बढी उमेरमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट मधुप्रसाद आचार्य रहेका छन् । सबैभन्दा कम उमेरका नेपाल मजदुर किशान पार्टीका २६ वर्षीय राजु तामाङ रहेका छन् । उनले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका थिए । राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर २ मा मात्र उम्मेदवारी दिएको छ । ४२ जनामध्ये ३ जना महिला उम्मेदवार रहेका छन् ।
त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिन्धुलीमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीको निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र सहित १२ जना र निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र सहित १६ जना गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
भक्तपुरमा दुई वटा निवार्चन क्षेत्रका लागि ४८ पुरुष र ९ महिला गरी कुल ५७ जनाले उम्मेद्वारी दिएका छन् । ९ महिला मध्ये राजनीतिक दलका ३ र स्वतन्त्र तर्फका ६ जना उम्मेद्वार छन् । उम्मेद्वारी दर्ता गराएका ५७ मध्ये २२ जना राजनीतिक दलसँग आवद्ध छन् भने २४ जना स्वतन्त्र तर्फका उम्मेद्वार छन् ।
साथै, नुवाकोटमा दुई वटा निवार्चन क्षेत्रका लागी ३० पुरुष र १ महिला गरी कुल ३१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । एक मात्र उम्मेद्वारी दिएकी महिला स्वतन्त्र उम्मेद्वार हुन् । कुल ३१ मध्ये राजनीतिक दलका तर्फका २६ र स्वतन्त्र तर्फका ५ जनाले उम्मेद्धवारी दर्ता गरेका छन् ।
इन्सेक काठमाडौँ प्रतिनिधि अनमोल पन्तका अनुसार १० निर्वाचन क्षेत्रका लागि कुल २ सय ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले माघ ५ गते राति १२ बजेदेखि जारी गरेको निवार्चन आचारसंहिताको धारा १३(ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चिसजनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकी सहित जान नहुने भनी उल्लेख भएता पनि अधिकांश राजनीतिक दलहरुले ठूला झण्डा सहित बाजागाजा बजाएर ठूलो संख्यामा जुलुस गरेका छन् ।
निर्वाचन कार्यक्रम अनुसार माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।