विगतका निर्वाचनका क्रममा उत्पन्न हिंसा, असहिष्णुता र बद्नामीपूर्ण घटनाबाट सिक्दै जिल्लाका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले यसपटक मानव अधिकारमैत्री, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने सहमति गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठै जना उम्मेदवारले ०८२ माघ ८ गते सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघ, बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले नौ बुँदे संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्दै लोकतान्त्रिक मूल्य, मताधिकारको सम्मान र मानव अधिकारको संरक्षणप्रति आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् । यस प्रतिवद्धताले जिल्लालाई विगतका नकारात्मक अभ्यासबाट मुक्त गर्दै सकारात्मक राजनीतिक पहिचान दिलाउने अपेक्षा रहेको नागरिक अगुवा कृष्ण अधिकारीले बताउनु भयो ।
संयुक्त प्रतिवद्धतामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान गराउने, मतदातालाई कुनै किसिमको डर, दबाब वा प्रभावमा नपार्ने तथा स्वतन्त्र मतदानको अधिकार सुनिश्चित गर्ने उल्लेख छ । उम्मेदवारहरूले प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने, व्यक्तिगत जीवनमाथि आक्षेप नलगाउने तथा सामाजिक सद्भाव कायम राख्ने प्रतिवद्धता जनाएका छन् । यी बुँदाहरूले अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक सहभागिता र समानताको मानव अधिकारलाई प्राथमिकता दिएको देखिन्छ ।
नेपाल पत्रकार महासघको अगुवाईमा आठै जना उम्मेदवारबिच सामूहिक संवाद भएको थियो । जिल्लाबाट नेपाली कांग्रेसका जनक गिरी, नेकपा एमालेका लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाही, नेकपा माओवादीका भुपेन्द्र विक प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही निर्वाचन प्रतिस्पर्धामा छन् ।
संयुक्त प्रतिवद्धतामा निर्वाचन प्रक्रियामा धाँधली, घुसपैठ, हिंसा वा मानव अधिकार उल्लङ्घन हुने कुनै पनि कार्य अस्वीकार्य हुने स्पष्ट गरिएको छ । यस्ता घटना भएमा आपसी संवाद र कानुनी प्रक्रिया मार्फत समाधान गर्ने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने तथा उम्मेदवारीका नाममा व्यक्ति, समूह वा समुदायबिच द्वन्द्व सिर्जना नगर्ने प्रतिवद्धता जनाइएको छ ।
मानव अधिकारको दृष्टिकोणबाट हेर्दा यो सहमतिले मतदाताको स्वतन्त्र इच्छा, राजनीतिक सहभागिताको अधिकार र शान्तिपूर्ण वातावरणमा मतदान गर्ने आधारभूत अधिकारलाई मजबुत बनाएको छ । उम्मेदवारहरूले यसलाई जिल्लाको मात्र नभई समग्र देशकै लागि सकारात्मक राजनीतिक अभ्यासको सुरुवात भएको भन्दै पूर्ण कार्यान्वयनमा नैतिक जिम्मेवारी र जवाफदेहिता वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि जिल्लामा भएका संघीय, प्रदेशिक र स्थानीय तहका अधिकांश निर्वाचनहरुमा बिभन्नि राजनीतिक दल र कार्यकर्ताहरुबिच झडप, कुटपिट र हत्यासम्मका घटनाहरु भएका थिए ।
