आगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका १६ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्ति सहित २ सय ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचनको लागि जिलबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बिभिन्न राजनीतिक दलबाट माघ ६ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद अवस्थीका अनुसार एक मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट नेपाली काग्रेसबाट धर्मानन्द जोशी, नेकपा एमालेबाट गणेशसिह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट लक्ष्मणदत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशसिह सामन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टीबाट रमेशकुमार रावल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगनसिह ठगुन्ना, आम जनता पार्टीबाट प्रेमसिह बडाल, नेकपा कम्युनिस्ट पार्टी माओवादीबाट नवराज भट्ट र नेकपा संयुक्तबाट विद्यादेवी जोशीले मनोनयन दर्ता गराउनु भएको छ । फागुन २१ गते हुने निर्वाचनको लागि जिल्लामा ४५ हजार ९ सय १३ महिला, ४७ हजार ७ सय ५५ पुरुष गरी कुल ९२ हजार ९ सय ४८ जना मतदाता रहेका छन् । जिल्लाभरि १ सय १२ मतदानस्थल तथा १ सय ४३ मतदान केन्द्र कायम गरिएको छ ।
इन्सेक प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर माघ ६ गतेउनीहरूले मनोनयन दर्ता गएका हुन् । मनोनयन दर्ता गर्नेहरुमा बिभन्नि राजनीतिक दलबाट १० र स्वतन्त्र तीन जना गरी १३ जना रहेका छन् । नेकपा (एमाले)बाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेसबाट नैनसिंह महर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायतले मनोनयन दर्ता गएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ । यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ । जिल्लामा तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसमा गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेती रहेको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ९३ हजार ४ सय ३ मतदाता छन् ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १० दल र दुई स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार जिल्लामा १० ओटा राजनीतिक दल र दुई जना स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेकपा एमालेका दामोदर भण्डारी, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रामबहादुर कुँवरले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी नेपाली कांग्रेसका चतुरबहादुर चन्द, आम जनता पार्टीका विशन सिंह बोहरा, नेपाली कम्युनिष्ट पार्टीका परमनन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी र जनता समाजवादी पार्टीका आनसिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांगे्रस परित्याग गरी तेजबहादुर चन्द र अर्का स्वतन्त्र व्यक्ति जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता कार्य आयोगले तोकेको समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताउनु भयो ।
इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा बिभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रमुख तथा साना दलका गरी नौ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेको तर्फबाट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले मनोनयन दर्ता गराउनुभएको छ भने नेपाली काँग्रेसको तर्फबाट भरतबहादुर खड्का उम्मेदवार बन्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र खड्का, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट प्रकाश कठायत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खडक प्रसाद अग्रवाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट खगेन्द्र बहादुर शाही, मितेरी नेपाल पार्टीबाट सरस्वती कुमारी पाल मल्ल तथा राष्ट्रिय जनमोर्चाबाट मणि राज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबै पक्षसँग सहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनु भयो।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा स्वतन्त्र सहित आठ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा माघ ६ गते एक स्वतन्त्र र बिभिन्न राजनीतिक दलका सात जनाले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराउनेहरूमा स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, नेकपा (एमाले)बाट लालबहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपककुमार डी.सी., नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाशबहादुर थापा, नेपाली काँग्रेसबाट जनक गिरी र नेपाली कम्युनिस्ट पार्टी (माओवादी)बाट भुपेन्द्र लुवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार उम्मेदवार तथा सम्बन्धित राजनीतिक दलहरूलाई निर्वाचनलाई शान्त, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरिएको छ । यसैबीच निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ को उल्लङ्घन भएको देखिएको छ । आचारसंहिता अनुसार मनोनयन–पत्र पेस गर्न जाँदा वा घरदैलो कार्यक्रममा २५ जना भन्दा बढीको जुलुस निकाल्न नपाइने, साथै बाजा, गाँजा तथा झाँकीमा प्रतिबन्ध लगाइएको भए पनि केही उम्मेदवार तथा दलहरूले ती मापदण्ड पालना नगरेको पाइएको छ ।
इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार जिल्लाका तीन ओटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ५५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना, क्षेत्र नम्बर २ मा १९ जना र क्षेत्र नम्बर ३ मा १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूको सहभागितामा जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । उम्मेदवारहरूमा जेन्जी पुस्ताका युवादेखि पटक–पटक निर्वाचन लडेका अनुभवी तथा पाको उमेरका व्यक्तिहरूसम्म देखिएका छन् । यस पटकको निर्वाचनमा कञ्चनपुरबाट पूर्वमन्त्रीहरू एनपी साउद, बिना मगर, तारा लामा तामाङ, मानबहादुर सुनार, पूर्व सांसद डा.दीपक प्रकाश भट्ट, पहिलो संविधान सभा सदस्य पुरन रानाथारु लगायतले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार ०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता जिल्लाको पाँच ओटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जिल्लाको पाँच ओटै निर्वाचन क्षेत्रमा ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १० जना, क्षेत्र नम्बर २ मा १६ जना, क्षेत्र नम्बर ३ मा ११ जना, क्षेत्र नम्बर ४ मा १६ जना र क्षेत्र नम्बर ५ मा १६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी चेतराज पन्तले बताउनु भयो । फागुन २१ गते हुने निर्वाचनको लागि जिल्लामा २ लाख ८० हजार २ सय ४३ महिला , २ लाख ७० हजार ७ सय ९८ पुरुष र ११ जना अन्य गरी ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन् । जिल्लाभरि २ सय ३७ मतदानस्थल र ६ सय ४१ मतदान केन्द्र कायम गरिएको छ ।
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि जिल्लामा सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन कार्यालय, बझाङका अनुसार तोकिएको समयभित्र सात जनाको मनोनयन दर्ता भएको हो । नेकपा एमालेबाट केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर, नेपाली काँग्रेसबाट सहमहामन्त्री प्रकाश स्नेही रसाइली, नेपाल कम्युनिष्ट पार्टीबाट मिनबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शैलेस सिंह, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा र नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट भरत मल्लले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ताका क्रममा केही दलका नेता तथा कार्यकर्ताले बाजागाँजा र नाराजुलुससहित उपस्थित भएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ ।