INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इन्सेक मकवानपुर प्रतिनिधि मन्जिला मैनालीका अनुसार ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार माघ ३ गते हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

उक्त भवनमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ र २ का लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय उद्घाटन कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश माननीय गीता श्रेष्ठ, निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिवक्ता देवेन्द्र आचार्य, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी लगायतको उपस्थिति रहेको थियो ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुर जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १ लाख ५८ हजार ४ सय ३५ र निर्वाचन क्षेत्र नं २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । मतदातामध्ये महिला १ लाख ५३ हजार ३ सय ७६, पुरुष १ लाख ६१ हजार ९ सय ५३ र अन्य पाँच जना रहेका छन् ।

मकवानपुरमा निर्वाचनका लागि १ सय ६७ मतदान स्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले बतायो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक सबै तयारी अघि बढाइएको पनि कार्यालयले जानकारी दिएको छ ।

इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन कार्यालय स्थापना सँगै माघ ५ गते सर्वदलीय बैठक सम्पन्न भएको छ ।

धादिङ क्षेत्र नं २ को निर्वाचन गतिविधि सञ्चालन गर्ने गरी कार्य सुरु गरिएको जानकारी गराउदै मुख्य निर्वाचन अधिकृत कार्यालयले राजनीतिक दलसँग छलफल गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आग्रह गरेको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा मनोनयन दर्ता, प्रचार–प्रसार, घरदैलो तथा अन्य गतिविधि सञ्चालन गर्दा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो।

यसैगरि क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत कार्यालय गल्छी गाउँ पालिका वडा नम्बर ६ महेश दोभानमा स्थापना गरिएको छ । धादिङ क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत एकराज अधिकारीले दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न सर्वदलिय बैठकमा आग्रह गर्नुभयो ।

धादिङ जिल्लामा २ निर्वाचन क्षेत्र छन् । धादिङ जिल्लामा १ सय १४ मतदान स्थल र ३ सय १० मतदान केन्द्र छन् । २ लाख ७५ हजार २ सय ८० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शिव गुरुङले बताउनुभयो ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो