२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ मधेश प्रदेशका जिल्लाहरुमा ०८२ माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
इन्सेक धनुषा प्रतिनिधि सन्तोष यादवका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत मनोज बरालले धनुषाधाम नगरपालिका–३ मा अवस्थित इलाका प्रशासन कार्यालयको निर्माणाधीन नयाँ भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । बरालका अनुसार यस क्षेत्रमा १ लाख २६ हजार ४० जना मतदाता रहेका छन् । निर्वाचन व्यवस्थापनका लागि २५ वटा मतदान स्थल र १ सय ६३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत दामोदर रेग्मीले विदेह नगरपालिका–६ तिनकौरिया चोकमा कार्यालय स्थापना गरिएको बताउनु भयो । रेग्मीका अनुसार सो क्षेत्रमा १ लाख ३४ हजार ८ सय २६ मतदाता रहेका छन् भने ८८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार उक्त क्षेत्रको कार्यालय जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा स्थापना गरिएको छ । यस क्षेत्रमा १ लाख २५ हजार ९ सय २७ मतदाता छन्। निर्वाचनका लागि ७४ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।यस्तै निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा कार्यालय स्थापना गरिएको बताउनुभयो। यस क्षेत्रमा १ लाख २७ हजार ७ सय ७८ मतदाता रहेका छन् भने ७५ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र तोकिएका छन्। मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार धनुषाका चारवटै निर्वाचन क्षेत्र गरी महिला मतदाता २ लाख ३८ हजार ४ सय ३५, पुरुष २ लाख ७६ हजार १ सय २६ र अन्य १० जना रहेका छन्। निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभर करिब ३० हजार ८ सय ७० जना कर्मचारी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो।
पर्सा इन्सेक प्रतिनिधि तुलसी भण्डारीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साको क्षेत्र नम्बर १ मा नै रहने गरी स्थापना गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले बताउनु भयो । क्षेत्र नं. १ मा मुख्यको पनि जिम्मेवारी बहन गर्ने गरी गायत्री प्रसाद रेग्मीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
त्यसै गरी क्षेत्र नं.२ को निर्वाचन अधिकृतमा जनकपुरको अस्थायी इजलास वीरगन्जका उपरजिष्ट्रार मधुसुदन आचार्य, क्षेत्र नम्बर ३ मा उच्च सरकारी वकिल कार्यालय वीरगन्जका उपन्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठ र पर्साको क्षेत्र नम्बर ४ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार नुतन झालाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको पर्साका मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनु भयो । क्षेत्र नम्बर १ मा ४८ मतदान स्थल र १ सय १४ मतदान केन्द्र छन् । त्यसै गरी क्षेत्र नम्बर २ मा ३८ मतदान स्थल र १ सय १० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ३ मा ४७ मतदान स्थल, १ सय १४ मतदानकेन्द्र र क्षेत्र नम्बर ४ मा ४८ मतदान स्थल र १ सय १४ मतदान केन्द्र गरी कुल मतदान स्थल १ सय ६७ तथा कुल मतदान केन्द्र ४ सय ४१ रहेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रभाकर कुमार मल्लिकले बताउनु भयो । उमेद्वारी दर्ता माघ ६ गते आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारको मनोनयन आगामी माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ सम्मदर्ता हुने निर्वाचन कार्यतालिका पनि पर्सामा सार्वजनिक भएको छ । उमेद्वार दर्ता भएकाहरुको सूचि प्रकाशन सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म हुने, माघ ७ गते १० बजेदेखि ३ बजेसम्म उमेद्वार उपर उजुरी दिन सकिने पर्साको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले बताउनु भयो । मनोनयन र उजुरी उपर जाँचबुझ माघ ७ गते नै ३ बजेदेखि भोलिपल्ट (माघ ८ गते) साँझ ५ बजेसम्म गर्ने, उमेद्वारहरुले माघ ९ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने र उमेद्वारको अन्तिम नामावली आगामी माघ ९ गते दिउसो १ बजेदेखि ३ बजेभित्र प्रकाशन गर्ने र उमेद्वारहरुलाई निर्वाचन चिन्ह पनि माघ ९ गते ४ बजेदेखि ७ बजेसम्ममा प्रदान निर्वाचन कार्यातालिका पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ ।
क्षेत्रगत रुपमा पर्साको क्षेत्र नम्बर १ मा पुरुष ५० हजार ४ सय ६ जना, महिला ३९ हजार २ सय ३० जना र अन्य दुई जना गरी ९९ हजार ६ सय ३८ जना रहेको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताउनु भयो । त्यसैगरी क्षेत्र नम्बर २ मा पुरुष ५३ हजार ७ सय १७, महिला ४१ हजार ४ सय र अन्य ३ जनागरी कुल ९५ हजार १ सय २० जना रहेका छन् । पर्सा क्षेत्र नम्बर ३ मा पनि पुरुष ५४ हजार ८ सय ९४ जना, महिला ४१ हजार ६ सय ४४ र अन्य ४ जना गरी जम्मा ९६ हजार ५ सय ४२ जना रहेका छन् । पर्साको क्षेत्र नम्बर ४ मा पुरुष ५३ हजार ६० जना, महिला ४२ हजार १ सय ४७ जना र अन्य ६ जना गरी ९५ हजार २ सय १३ जना गरी कुल ३ लाख ७६ हजार ५ सय १३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले पनि जनाएको छ । पर्सामा यो निर्वाचनका लागि २४ हजार २९ जना मतदाता थपिएका छन् । थपिएका सहित पर्सामा कुल ३ लाख ७६ हजार ५ सय १३ मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय पर्साको प्रमुख अनामिका रौनियारले बताइन् । १ लाख ६४ हजार ४ सय २१ महिला, २ लाख १२ हजार ७७ पुरुषसँगै १५ जना अन्य गरी कुल मतदाता कायम भएको उहाँले बताउनु भयो ।
इन्सेक महोत्तरी प्रतिनिधिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख रञ्जिता झा ले जानकारी दिनुभयो। झाका अनुसार निर्वाचनको सम्पूर्ण व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याइएको हो। मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय पनि सञ्चालनमा ल्याइएको हो । ती कार्यालयहरूबाट उम्मेदवार दर्ता, मतदाता सेवा, उजुरी दर्ता, समन्वय तथा अन्य प्रशासनिक कार्यहरू सञ्चालन गरिनेछ। क्षेत्रगत रूपमा क्षेत्र नं. १ का निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार बर्दिवास उद्योग वाणिज्य संघको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं. २ का निर्वाचन अधिकृत शोभाकर खरेलका अनुसार बलबा नगरपालिका–७ वनौटास्थित आधारभूत अस्पतालको भवनमा कार्यालय स्थापना गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्ला समन्वय समितिको कार्यालय जलेश्वर कार्यालय स्थापना गरिएको छ। निर्वाचन क्षेत्र नं. ४ का लागि रामगोपालपुरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको अधिकृत नारायणप प्रसाद चापागाईले बताउनु भयो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार अब उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा आचारसंहिता कार्यान्वयनका प्रक्रिया क्रमशः सुरु गरिनेछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले बताएको छ ।
इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी जिल्लामा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत कञ्चनरुप नगरपालिका–८ स्थित रौनियार धर्मशालाको भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । उक्त निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतका रूपमा जनकीरमण यादव रहनु भएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ का लागि राजविराज नगरपालिका–७ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय भवनमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याइएको मुख्य निर्वाचन अधिकृत इश्वर घिमिरे बताउनु भयो । निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत शम्भुनाथ नगरपालिका–७ कठौना बजार (भगवतपुर) स्थित वडा कार्यालयको भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको क्षेत्रका निर्वाचन अधिकृत सिताराम अर्याल जानकारी दिनुभयो । यसैगरी निर्वाचन क्षेत्र नं. ४ का लागि खडक नगरपालिका–७ कल्याण बजार स्थित वडा नं कार्यालयको भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्य बताउनु भयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापनलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न स्थानमा कार्यालयहरू स्थापना गरिएको जनाइएको छ साथै निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ।
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भयो। सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरूले आ–आफ्नो क्षेत्रको मतदाता संख्या, मतदान स्थल तथा मतदान केन्द्रको विवरण सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, निर्वाचन क्षेत्र नं. २ मा सर्लाही जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलिया, निर्वाचन क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव नवराज आचार्य र निर्वाचन क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोद प्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् ।निर्वाचन मतदान फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही सदरमुकाम मलंगवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ०८२ माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन क्षेत्र नम्बर १ को लागि लालबन्दी नगरपालिका–१० को वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने क्षेत्र नम्बर २ को मलंगवा नगरपालिका १० स्थित जिल्ला समन्वय समितिको कार्यालयमा, क्षेत्र नम्बर ३ को हरिवन नगरपालिका–१० स्थित मालपोत कार्यालयमा तथा क्षेत्र नम्बर ४ को गोडैता नगरपालिका–८ मा रहेको श्री वेणी भोला नमुना मा.वि.मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले जानकारी दिनु भयो । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा तयारीका काम धमाधम अघि बढेका छन् । फागुन २१ गतेको निर्वाचनका लागि सर्लाहीमा ३ सय १२ मतदान स्थल अन्तर्गत ६ सय २८ मतदान केन्द्र तोकि सकिएको छ ।जिल्लामा ५ लाख ११ हजार ६ सय ६ जना अन्तिम मतदाता कायम भएका छन् । फागुन २१ को निर्वाचनकै लागि सदरमुकाम मलङ्गवा स्थित जिल्ला प्रहरी कार्यालयमा निर्वाचन प्रहरीको आवेदन लिने कामसमेत छिटो र छरितो भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, सर्लाहीले मतदाता नामावली अद्यावधिक गरेको छ । उक्तकार्यालयका अनुसार जिल्लामा ५ लाख ११ हजार ६ सय ६ जना मतदाता कायम भएका छन् । निर्वाचन कार्यालयका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८ सय ७१ मतदाता, त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ३ सय ११ मतदाता, निर्वाचन क्षेत्र नं. ३ मा सबैभन्दा धेरै १ लाख ३४ हजार ४ सय १२ मतदाता र निर्वाचन क्षेत्र नं. ४ मा १ लाख २१ हजार १२ जना मतदाता कायम भएका छन् । साथै त्यस्तै, सर्लाही जिल्लामा जम्मा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका २ सय वडा मा कुल ३ सय १२ मतदान स्थल र ६ सय २८ मतदान केन्द्र रहने जिल्ला प्रशासनकार्यालय सर्लाह मलंगवाका प्रमुख जिल्ला अधिकारी कडरीयाले जानकारी दिनु भयो
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरूले आ–आफ्नो क्षेत्रको मतदाता सङ्ख्या, मतदान स्थल तथा मतदान केन्द्रको विवरण सार्वजनिक गरे । निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत फनिन्द्रा राज भट्टराईले उक्त क्षेत्रको कार्यालय लहान नगरपालिका–१० स्थित भूषरक्षण जलाधार ब्यवस्थापन कार्यालयको भवनमा स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस क्षेत्रमा १ लाख ११ हजार ९ सय ४९ जना मतदाता रहेका छन्। निर्वाचन व्यवस्थापनका लागि ५६ वटा मतदान स्थल र १ सय ३० वटा मतदान केन्द्र निर्धारण गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत नबराज जोशीले मजबलनबमजmबष् नगरपालिकामा कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार यस क्षेत्रमा १ लाख १५ हजार ७ सय ६० मतदाता रहेका छन् भने ५४ मतदान स्थल र १ सय ३६ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत प्रकाश उप्रेतीका अनुसार उक्त क्षेत्रको कार्यालय सिरहा नगरपालिकामा स्थापना गरिएको छ। यस क्षेत्रमा १ लाख १९ हजार २ सय ५० मतदाता छन्। निर्वाचनका लागि ५३ मतदान स्थल र १ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो। निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शिव बागलेले मिर्चेया नगरपालिकाको रेडक्रस भवनमा कार्यालय स्थापना गरिएको बताउनुभयो। यस क्षेत्रमा १ लाख ६ हजार ६ सय ८६ मतदाता रहेका छन् भने ६० मतदान स्थल र १ सय २९ मतदान केन्द्र तोकिएका छन्।
इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरूले आ–आफ्नो क्षेत्रको मतदाता सङ्ख्या, मतदान स्थल तथा मतदान केन्द्रको विवरण सार्वजनिक सो विषयमा जानकारी गराएका छन् । निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत जिल्ला न्यायाधीश मनोज के सि ले उक्त क्षेत्रको कार्यालय सदरमुकाम गौर स्थित कर कार्यालयको भवनमा स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस क्षेत्रमा १ लाख ८६ हजार २६ जना मतदाता रहेका छन्। निर्वाचन व्यवस्थापनका लागि ६७ वटा मतदान स्थल र १ सय ३२ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत इजलास अधिकृत सिताराम खड्काले परोह नगरपालिकाको लौकाहमा कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार यस क्षेत्रमा १ लाख ८८ हजार ७२ मतदाता रहेका छन् भने ७२ मतदान स्थल र १३७ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत उपसचिव अबधकिशोर कुशवाहका अनुसार उक्त क्षेत्रको कार्यालय कटहरिया नगरपालिका ४ को कटहरिया बजारमा स्थापना गरिएको छ। यस क्षेत्रमा १ लाख ८६ हजार ९९ मतदाता रहेका छन्। निर्वाचनका लागि ७७मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो। यस्तै निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत इजलास अधिकृत उद्धब ढोडारीले चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर बजरमा कार्यालय स्थापना गरिएको बताउनुभयो। यस क्षेत्रमा १ लाख १० हजार ३ सय ९४ मतदाता रहेका छन् भने ६१ मतदान स्थल र १३४ मतदान केन्द्र तोकिएका छन्। मुख्य निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार रौतहटको चारवटै निर्वाचन क्षेत्र गरी महिला मतदाता १ लाख ९६ हजार ३ सय ४३ , पुरुष मतदाता २ लाख ४० हजार २ सय ६७ जना रहेका छन्। निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभर करिब ३० हजार ५ सय ५० जना जति कर्मचारी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो। मतदान स्थलमा खटिने अधिकृत तथा कर्मचारीको विस्तृत विवरण भने तयारीकै चरणमा रहेको जनाइएको छ।
इन्सेक बारा प्रतिनिधिका अनुसार निर्वाचन क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालयको बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले उद्घाटन गरेका छन् । निर्वाचन आयोगले अधिकारीलाई बाराको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको जिल्ला निर्वाचन कार्यालय बाराले जानकारी दिएको छ । क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय कोल्हवी नगरपालिकाको भवनमा स्थापना भएको छ । त्यसैगरी क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय महागढ़ीमाई नगरपालिकाको भवनमा स्थापना भएको छ । क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम कार्यालय जीतपुरमा स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नविन चौधरीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,प्रहरी उपरीक्षक नरेन्द्र कुवर,राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा कुल ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन् ।