INSEC Online

📅 २०८३ जेष्ठ २१

तालिमपछि व्यवसायिक बन्दै जाजरकोटका कैदीबन्दी

जिल्ला कारागार जाजरकोटका कैदी बन्दी तालिमपछि व्यवसायिक बन्दै गएका छन् । जसले गर्दा कारागारमा कैद भुक्तान गरी रहेका कैदी बन्दीको दिनचर्या परिवर्तन भएको छ ।

शिवालय गाउँपालिका–५ थलारैकरका ४० वर्षीय जयबहादुर शाहीले कारागारका कैदीबन्दीले तयार गरेका फर्निचर र अन्य सामग्रीको रेखदेख गर्दै आएका छन् ।

उनले कारागार प्रशासनसँग समन्वय गरी कैदीबन्दीले उत्पादन गरेका सामग्रीको बजारमा विक्री वितरण समेत गर्छन् ।

जिल्ला कारागारमा १० जना पुरूष र पाँच जना महिलाको क्षमता भएपनि अहिले ३९ कैदी र १७ थुनुवा गरी ५६ जना रहेका छन् । कारागारमा महिला तथा आश्रित बालबालिका भने छैनन् ।

कारागारमा कैदीबन्दीहरूका लागि घरेलु विकास समिति तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा फर्निचर, बाँसका मुडा, ढाकाको पछ्यौरा, ढाकाको टोपी, उनी झोलालगायतका निर्माणसम्बन्धी तालिमको व्यवस्था भएपछि कैदीबन्दीहरूलाई आम्दानी गर्न सजिलो भएको डिलबहादुर रानाले बताए ।

कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका भेरी नपा–१ रिम्नाका डिलबहादुर राना भन्छन्–“अहिले कारागारमा बाँसका मुडा बनाउने गरिरहेका छौ, बजारमा बाँसको मुडाको माग अत्याधिक रहेको छ । बजारको माग पूरा गर्न सकिएको छैन । बाँसको मुडा बनाउने अधिकांश कैदीबन्दीले मासिक १० हजार रुपियाँसम्म कमाई गर्ने गरेका छौँ ।”

कारागारमा राना जस्तै फर्निचर निर्माणमा भेरी नपा–५ पुन्माका दलबहादुर लुहारले पनि गर्दै आएका छन् । दल बहादुर बिहान उठ्ने वित्तिकै हातमुख धोएर नास्ता खाई उद्यममा लाग्ने गरेका छन् ।

विगतमा कारागार सजाय भोग्ने स्थानको रूपमा हेर्ने गरेका लुहार फर्निचरको तालिम लिएर उत्पादन गर्न थालेपछि कारागार सजाय भोग्ने र सुधार केन्द्र मात्र नभई व्यवसाय गर्ने केन्द्र पनि मान्न सकिने लुहारको अनुभव छ ।

जिल्ला कारागारका अधिकांश कैदीबन्दीले बाँसका मुडा बनाउने, फर्निचर, झोला, पछ्यौरा तथा टोपी बनाउने तालिम लिएको लुहारले बताए ।

बाहिरी वातावरणमा बसिरहेकालाई सुरूका दिनमा कारागारमा बस्न असजिलो भएपनि विस्तारै बानी पर्दै गएपछि घुलमिल हुँदै जाने जाजरकोट कारागारका कैदीबन्दी बताउँछन् । कारागारमा मनोरञ्जन, खेलकुदको सुविधा पनि रहेको कैदीबन्दी बताउँछन् ।

जिल्ला कारागार प्रमुख तेजबिक्रम शाहले कारागारले काठ तथा बाँस खरिद गरेर ल्याउन सहयोग गर्ने गरेको बताउँछन् ।

कारागारमा तयार पारेको सामाग्री सस्तोमा पाइने हुँदा कारागारमा उत्पादित सामग्री बजारमा बढी खपत हुने बताए ।

photo20190202jajarkot (1)

photo20190202jajarkot (2)

photo20190202jajarkot (3)

photo20190202jajarkot (4)

अन्य

भिडियो