INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय परिसरमै स्थापना गरिएको उक्त कार्यालयको ०८२ पुस १६ गते जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहसँगै श्रेष्ठले औपचारिक रूपमा निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ । कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया सुरु भएको प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा आगामी माघ ११ गते दुई जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमार्फत एक जना महिला र एक जना अन्य समूहबाट प्रतिनिधि चयन हुनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाका १ सय १० जना सदस्य तथा १३ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना समेत गरेर कुल ३ सय ४८ जना मतदाता रहेका छन् ।

मतभारका आधारमा हेर्दा स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० रहेको छ । यसरी जम्मा १० हजार ३ सय ५२ मतभार कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । उक्त विद्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन ्। ‘बी’ ब्लकमा मतदान हुनेछ भने प्राविधिक भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको छ ।

०८२ माघ ११ गते नै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले मतदान स्थलको निरीक्षणसमेत गर्नुभएको थियो । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कुल १६ जना कर्मचारी खटाइनेछ ।

मतदान प्रक्रिया अनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले मतदान गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसि प्रयोग गर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले मतदान समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार ०८२ पुस १९ गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यसपछि दाबी–विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन, उम्मेदवारको मनोनयन, उजुरी, नाम फिर्ता तथा निर्वाचन चिन्ह वितरणलगायतका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ ।

हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका गंगा कुमारी बेलवासे र बेदुराम ढकालको कार्यकाल २०८२ फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि यो निर्वाचन हुन लागेको हो ।

मञ्जिता मैनाली

अन्य

भिडियो