०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य रिक्त पदको निर्वाचनका लागि दाङमा लुम्बिनी प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस प्रकाशप्रसाद पण्डितले घोराहीमा पुस १६ गते कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा पण्डितले निर्वाचन लोकतन्त्रको पर्याय भन्दै लोकतन्त्रलाई जिवित राख्न निर्वाचन जरुरी रहेको बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयमुक्तरुपमा सम्पन्न गर्ने जिम्मेवारी सबैमा रहेको बताउनुभयो । उहाँले निर्वाचनलाई निर्वाचनजस्तै बनाउन आचारसंहिताको पालना जरुरी रहेको भन्दै त्यसबाट राजनीतिक दल, मतदाता, उम्मेदवार र सञ्चारमाध्यमबाट सहयोगको अपेक्षा समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले निर्वाचनलाई सफल, शान्तिपूर्ण र मर्यादित बनाउन दलहरुले भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन संवेदनशील भएर लागेको उल्लेख गर्दै उम्मेदवार र मतदाताको सुरक्षामा आफूहरु गम्भीर भएर काम गरिरहेको बताउनुभयो
सो अवसरमा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिंह खड्का, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले निर्वाचन शान्तिपूर्ण बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राजमो, राप्रपाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
लुम्बिनीमा तीन पदमा प्रतिष्पर्धा
राष्ट्रिय सभा सदस्य रिक्त तीन पदमा लुम्बिनी प्रदेशबाट प्रतिष्पर्धा हुँदैछ । आगामी माघ ११ गते घोराहीको मिलनकेन्द्रमा हुने निर्वाचनमा एक महिला, एक अपाङग र एक अन्य क्लष्टरका लागि प्रतिष्पर्धा हुनेछ । उक्त निर्वाचनमा लुम्बिनीबाट ३ सय ५ जनाले मतदान गर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ । जसअनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभाका ८७ जना सदस्य छन भने यो प्रदेशमा १ सय ९ स्थानीय तह छन । तर रुपन्देहीको लुम्बिनी साँस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन भएकाले स्थानीय तह तर्फ २ सय १७ र प्रदेशसभातर्फ ८७ गरी कुल ३ सय ४ जनाले मतदान गर्नेछन् ।
यस्तो छ निर्वाचन प्रक्रिया
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनीलगायत सातवटै प्रदेशमा बुधवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने पुस १९ गते मतदाता नामावली प्रकाशन गर्ने, १९ गते देखि २० गतेसम्म दावी विरोधको उजुरी दिने, पुस २१ र २२ गते निवेदन तथा उजुरी उपर छानवीन र कारवाही गर्ने, पुस २२ गते नै अन्तिम नामावली प्रकाशन गर्ने, पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, सो दिन उम्मेदवारहरुको सूची प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरी उपर जाँचबझ गरी निर्णय गर्ने, पुस २६ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदानको कार्यक्रम रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।