जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर बैदीबन्दी हुँदा समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरूले दुखेसो पोखेका छन् ।
२५ जना क्षमता भएको कारागारामा हाल ५१ जना कैदीबन्दी राखिएको कारण आफूहरूले समस्या झेल्नु परेको ३३ वर्षीय कैदी दिपेन्द्र जेठाराले दुखेसो पोखे ।
उनले भने–‘क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । हामीले चाहेको समयमा शौचालय समेत प्रयोग गर्न पाएका छैनौँ । पाल लगाएर भुइँमा सुत्नु परेको छ । स्वाच्छ खानेपानी समेत खान पाएका छैनौँ ।’
तीन वर्षसम्म कैदसजाय सुनाइएका कैदीबन्दीहरूलाई सामुदायिक सेवामा लगाउने सरकारले व्यवस्था गरेको भए पनि यसको कार्यन्वयन हुन नसकेको कैदी जेठाराले बताए ।
उनले भने–‘कैदीबन्दीहरूको पनि आधारभुत मानव अधिकारको सम्मान र संरक्षण हुनुपर्छ । कारागार सुधार गुह भनिएता पनि यसको व्यवाहारिक पक्ष कमजोर छ ।’
कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने आफूहरूको बाध्यता भएको जेलर राजन केसीले बताए । उनले भने–‘क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वाच्छ खानेपानी, बास र शौचालयको समस्या कैदीबन्दीहरूले भोग्नु परेको छ । कैदीबन्दीहरूलाई सहज होस भनेर मैले अन्य कारागारमा पनि कैदीबन्दीलाई सरूवा गर्दै आएको छु ।’