शम्भुनाथ नपा–२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजकी छोरी २८ वर्षीया महिरून खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो. जालम मियाँ, ३५ वर्षीया जमिला खातुन र ५२ वर्षीय भुवन साहलाई माघ १३ गते जनही तीन महिनाको कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलाशले धरौटीमा रिहा भएका आरोपितहरूलाई कुटपिट गरी चार महिनाको गर्भपतन गराएको आरोपमा जनही तीन महिनाको कैद सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
कथित बोक्सी भन्दै कुटपिट गरी ०७३ माघ १४ गते गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा आरोपितहरूविरूद्ध माघ १७ गते उजुरी दिएकी थिइन् ।
आरोपितहरूले घर छेउमा बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै कुटपिट गर्दा गर्भपतन भएको पीडितले बताइन् ।
जिल्ला प्रहरी कार्यालयले आरोपितमध्ये रफिदनलाई ०७३ माघ १९ गते गिरफ्तार गरी आरोपितहरूविरूद्ध माघ २० गते गर्भपतनको उजुरी दर्ता गरेको थियो ।
पीडितको रूपनी गापा–१ स्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत), युनिक अस्पताल र राजविराज नपा–३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो ।
गर्भपतन भएको भ्रुणको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७३ माघ २० गते भएको थियो ।
तत्कालिन जिल्ला न्यायाधीश रोशन गजुरेलको इजलासले आरोपित रफिदनलाई फागुन १७ गते २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
यसैगरी जिल्ला अदालतमा ०७३ चैत २८ गते हाजिर भएका आरोपितहरू भुवनलाई २५ हजार, ०७४ वैशाख ५ गते हाजिर भएका लुकमान र महिरून तथा ०७५ वैशाख ७ गते हाजिर भएका जमिला र जालमलाई जनही १५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।