आगामी फागुन २१ गते हुने निर्वाचन घोषणा पछिको अद्यावधिक अवधिमा कर्णाली प्रदेशमा २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका छन् । यो सँगै कर्णालीको कुल मतदाता संख्या १० लाख ३३ हजार नाघेको छ । यसअघि प्रदेशमा १० लाख ६ हजार ८ सय ३४ मतदाता थिए । नयाँ मतदाता सूची आधिकारिक रूपमा सार्वजनिक गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताउनु भयो ।
उहाँका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेत अग्रस्थानमा रहेको छ । यहाँ ७ हजार ३ सय ६२ नयाँ मतदाता दर्ता भएका छन् । दैलेखमा ३ हजार ६ सय २६, रुकुमपश्चिममा २ हजार ८ सय ४०, जाजरकोटमा २ हजार २ सय १० र सल्यानमा ३ हजार १ सय ८० मतदाता थपिएका छन् ।
त्यस्तै हिमाली जिल्ला डोल्पामा १ हजार ७ मतदाता दर्ता भए भने जुम्लामा ३ हजार ३६, मुगुमा ७ सय ७४, हुम्लामा ८ सय २४ र कालिकोटमा १ हजार ७ सय ७६ मतदाता नयाँ सूचीमा परेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार विशेषत १७ देखि २५ वर्ष उमेर समूहका युवाहरूले नयाँ मतदाता दर्तामा रुचि देखाएका छन् । यस समूहका ८० प्रतिशतभन्दा बढीले नाम दर्ताका लागि आवेदन दिएको निर्वाचन अधिकारी गुरुङले जानकारी दिनुभयो ।
आधुनिक प्राविधिक सुविधासहित आयोगले अनलाइनबाट नै नाम दर्ता गराउने व्यवस्था मिलाएपछि यसपटक नयाँ मतदाताको सहभागिता उल्लेख्य रूपमा बढेको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ । राष्ट्रिय परिचय पत्रको फोटा र औँठाछापसहितको विवरण अपलोड गरेर सजिलै दर्ता गर्न सकिने सुविधा सरकारले उपलब्ध गराएपछि युवा पुस्ता आकर्षित भएको देखिएको छ ।