जिल्ला कारागार शाखा दिक्तेलमा महिला बन्दी राखिएको भवन जीर्ण बनेका कारण बस्न तथा सुत्न समस्या भएको गुनासो बन्दीहरूले गरेका छन् ।
इन्सेक प्रतिनिधिसहित मानव अधिकारकर्मीले माघ १० गते कारागार अनुगमन गर्ने क्रममा महिला बन्दीहरूले जीर्ण भवनमा बस्नु परेकोले सुत्न बस्न समस्या भएको बताए ।
कारागार प्रशासन तथा बन्दीसँग भेटेर कारागारको अवस्था र उपलब्ध सेवा सुविधाको बारेमा जानकारी लिने क्रममा भूकम्प र कमजोर भौगोलिक अवस्थाका कारण चिराचिरा परेको भवनमा चिसो र त्रासका कारण बस्न असहज भएको महिला सरीता मगरले बताइन् ।
अनुगमनका क्रममा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाइएको मानव अधिकार शान्ति समाज खोटाङकी उपाध्यक्ष मुना चौलागाईले बताइन् ।
३३ महिला र ६६ जना पुरूष राख्ने बन्दी क्षमता रहेको कारागार शाखामा हाल १ सय ११ जना बन्दीहरू रहेका छन् । जसमध्ये १ सय ९ जना पुरूष र दुई जना महिला बन्दीहरू छन् । कारागारमा आश्रित एक जना बालक छन् ।