INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीलाई गोली प्रहार गरेको आरोपमा तराई मुक्ति मोर्चाका कार्यकर्ता गिरफ्तार

प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय महेन्द्र सतरामाथि गोली प्रहार गरी हत्या प्रयास गरेको आरोपमा खडग नपा–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई माघ ८ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयले माघ १० गते सार्वजनिक गरेको छ ।

गोली हान्ने, एम्बुस थाप्ने, धम्कयाउँदै चन्दा माग्ने, लुटपाट गर्ने अपराधिक गतिविधिमा संलग्न ‘मोष्ट वाण्टेड’ सूचीमा रहेका सिजन नेतृत्वको प्रगतिशिल तराई मुक्ति मोर्चाका मुख्य योजनाकार चौधरीलाई गिरफ्तार गरी प्रहरीले सार्वजनिक गरेको हो ।

सप्तरीको रुपनी चोकदेखि सात सय मिटर दक्षिण राजविराज आउने सडक खण्डमा प्रहरी ‘कारवाही’मा माघ ९ गते बिहान सुरुङ्गा नपा–६ कडरवोनाका ३० वर्षीय दिपेन्द्र चौधरी मारिएको भोलिपल्टै प्रहरीले पशुपतिलाई सार्वजनिक गरेको हो ।

पशुपति संलग्न अधिकांश घटनामा प्रहरी कारबाहीमा मारिएका मोर्चाका दिपेन्द्र पनि संलग्न रहेको एसपी विष्टको दावी छ ।

प्रहरीले गिरफ्तार गरेको अस्विकार गरिरहेकै बेला इन्सेक अनलाइनमा मात्र प्रकाशित समाचारकै कारण प्रहरीले पशुपति चौधरीलाई सार्वजनिक गरेको उनका भाइ ३९ वर्षीय राजकुमार चौधरीले बताए ।

सादा पोशाकका प्रहरीले माघ ८ गते हनुमाननगर कङ्कालिनी नपा–१ भारदहस्थित कोशी ब्यारेजबाट अपहरण शैलीमा गिरफ्तार गरेको समाचार इन्सेक अनलाइनले माघ ८ गते नै प्रकाशन गरेको थियो ।

राजकुमार चौधरीका अनुसार पुसी पूर्णिमाको मेला भर्न पत्नी काजलसँगै माघ ७ गते कोशी ब्यारेज पुगेका पशुपति कोशी नदीमा नुहाएर राति सुनसरीको इनरुवा नपा–१ स्थित आफ्नो डेरामा बसेका थिए ।

पत्नी काजलसँग माघ ८ गते स ५ प ८०० नम्बरको मोटरसाइकल चढी घर फर्किरहेका बेला सादा पोशाकका प्रहरीले हत्कडी लगाउँदै बा १८ च ७०२४ नम्बरको निजी भ्यानमा राखेर राजविराज ल्याएका थिए । स ५ प ८०० नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा छ ।

गिरफ्तार चौधरी नेपाली सेनाको पूर्व सैनिक रही त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्ने राष्ट्रिय स्तरका खेलाडी हुन् ।

१० वर्षसम्म नेपाली सेनामा कार्यरत पशुपतिले मोर्चाका कार्यकर्तालाई हतियारसम्बन्धी तालिम दिनेदेखि बम तथा एम्बुस तयार पार्नेसम्मका काम गर्दै आएको प्रहरीको आरोप छ ।

नेपाली सेनाबाट राजिनामा दिई विदेशिएका पशुपति वैदेशिक रोजगारीका लागि कतार र इराक बसेका थिए ।

काजलका अनुसार पाँच वर्ष अघि विदेशबाट फर्किएर आएका पशुपतिले विवाह गरेपछि घरपरिवारमै बस्ने गरेको र विभिन्न क्लबबाट भलिबल खेल्ने गरेको बताइन् ।

माघ १ र २ गते पनि पतिसँगै घरमा सङ्क्रान्ति मनाएको बताएकी काजलले प्रहरी हवल्दार सतरामाथि भएको गोली प्रहारदेखि अन्य कुनै पनि अपराधिक गतिविधिमा पशुपतिको संलग्नता नरहेको दावी गरिन् ।

पशुपतिमाथि प्रहरीको आरोप

पशुपति चौधरीमाथि माघ २ गते प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार कोशी गाउँपालिका–६ श्रीपुर निवासी महेन्द्र सतरामाथि गोली प्रहार गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले माघ ८ गते उजुरी दर्ता गरेको छ ।

उनीमाथि प्रहरी चौकी झुट्कीमा कार्यरत असई रमेश सुब्बालाई साविक नर्घो गाविस–६, झौहरा चोकमा ०७२ पुस २० गते गोली हानी हत्या गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

गोइत समूहबाट अलग भई प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूह गठन गरेको प्रहरीले जनाएको छ । मोर्चा ०७४ साउन ४ गते विज्ञप्तिमार्फत अस्तित्वमा आएको हो ।

एसपी राजेन्द्र विष्टका अनुसार त्यसअघि ०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर राजेन्द्र यादवसहित ११ जना सवार बा १ झ ७३९२ नम्बरको प्रहरी भ्यानलाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट गराएपछि चौधरीले मोबाइलबाट ‘प्रगतिशील तराई मुक्ति मोर्चा जिन्दावाद, यो घटनाको जिम्मा हाम्रो’ भन्ने व्यहोराको म्यासेज पठाएका थिए ।

सुरुङगा नपा–६ स्थित त्रियुगा डिष्टिलरी प्रालिका म्यानेजरलाई फोनमार्फत ०७४ भदौ ७ गते धम्क्याई चन्दा मागेको र ०७४ असोज २४ गते डिष्टिलरीका सुरक्षा गार्ड मोरङ सुन्दरहरैचा–६ का नवराज कोइरालालाई गोली हानी घाइते बनाएको घटनामा सलंग्नता रहेको प्रहरीको आरोप छ । मोर्चाका संयोजक  सिजनले ९८११७४८३७९ को मोवाइलबाट डिष्टिलरी प्रालिका मेनेजरलाई फोन गरी चन्दा मागेका थिए ।

हनुमाननगर कङ्कालिनी नपा–१३ स्थित कोशी नदी किनारमा वालुवा सफा गर्ने धर्तीफोर ड्राईजर मेशिन रोकिराखेको अवस्थामा ०७५ कात्तिक ६ गते राति चौधरीसहित १०÷११ जनाले कटुवा पेस्तोल देखाई कामदारहरूलाई कुटपिट गरी तीन थान मोवाइल खोसेको, मेशिन नजिक रातो कपडामा “प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूह, यो पार्टीले काम रोक्का गरिएको छ”  लेखिएको व्यानर टाँगेको प्रहरीको आरोप छ ।

अन्य

भिडियो