INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा गठन गरिएको युवा समूहले अदुवा विक्रीबाट ५० हजार आम्दानी गर्‍यो

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को पहलमा गठन भएको जिल्ला स्तरीय बेद युवा समूहले सामुहिक अदुवाखेतीमार्फत उत्पादित अदुवा विक्रीबाट ५० हजार रुपियाँ आम्दानी गरेको छ ।

इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत बेद माध्यमिक विद्यालय बगनासकाली–९ बराङ्दीमा गठन गरिएको युवा समूहले समुदाय स्तरमा रचनात्मक अभियानमा चलाउँदै आएको छ । जसका कारण युवा समूह समुदाय स्तरमा लोकप्रिय समेत बनेको छ ।

युवा समूहले बगनासकाली गाउँपालिका–८ बराङ्दी न्यौपाने डाँडामा तीन रोपनी जग्गा भाडामा लिई सामूहिक अदुवा खेती गरेको थियो । अदुवा खेतीका लागि आवश्यक तालिम, मल, जग्गा भाडा वापतको रकम र ३ सय केजी अदुवाको बिउ बगनासकाली गाउँपालिकाले उपलब्ध गराएको थियो ।

बारीमा ८ सय ३४ केजी अदुवा उत्पादन भएको र प्रति केजी ६० रुपियाँका दरले विक्री गरी आएको रकममध्ये ५० हजार रुपियाँबाट युवा समूहले समुदाय स्तरमा रचनात्मक अभियानहरू सञ्चालन गर्ने युवा समूहका अध्यक्ष बरूण बस्यालले बताए ।

कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले पनि केही गरेर देखाउन सक्छन् भन्ने कुराको समुदायमा उदाहरण दिन, स्थानीय तह, गाउँपालिका र वडा कार्यालयसँग युवाहरूको समन्वय बढाउन तथा इन्सेकको कार्यक्रम नभएको अवस्थामा समेत युवा समूहलाई निरन्तरता दिन पनि सामूहिक अदुवा खेती गरिएको अध्यक्ष बस्यालले बताए ।

अदुवा निकाल्ने क्रममा अनुगमन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवाहरूको यो प्रयास जिल्लामै नमूना रहेको बताए ।

उनले यसप्रकारको अभियानमा गाउँपालिका सधैँ सहयोगीको रूपमा रहेको बताए । अदुवा निकाल्ने कार्यमा समेत युवाहरूले नै सक्रियतापूर्वक काम गरेका थिए ।

गत जेठ महिनामा युवाहरूले सामूहिक रूपमा अदुवा रोपेका थिए । जसमा बगनासकाली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरू तथा युवा समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।

आगामी दिनमा समेत युवा समूहले कार्ययोजना बनाई समुदाय स्तरमा अझ रचनात्मक अभियानहरू सञ्चालन गर्ने समूहका सचिव जीवन न्यौपानेले बताए ।

photo20190113palpa (1)

photo20190113palpa (2)

photo20190113palpa (3)

अन्य

भिडियो