१० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई पुस १२ गते देवदहबाट गिरफ्तार गरेको छ ।
आरोपित बाबुले छोरीलाई पुस ११ गते साँझ बलात्कार गर्दा बालिका चिच्याएर रोएपछि घटना बाहिर आएको हो ।
घटनाको विषयलाई लिएर पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका–१ स्थायी घर भई मायादेवी गाउँपालिका–८ बसडिलवा डेरा गरी बस्ने वर्ष २४ का अनिल चौधरीलाई पुस १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस ११ गते बलात्कार गरेको भनी पीडितको अभिभावकले पुस १२ गते नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर उमेश जोशीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।