स्क्रव टाइफस, डेंगी तथा मौसमी विरामीको चाप बढेपछि साविक राप्तीकै ठूलो अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीलाई शैया अभाव भएको छ ।
३ सय ५० बेड रहेको प्रतिष्ठानमा ३७ वटा बेड इमेरजेन्सी वार्डमा छन् । तर दैनिक औषतमा १ सयको हाराहारीमा बिरामी थपिन थालेपछि बिरामीलाई रिफर गर्नु परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्रराईले जानकारी दिनुभयो । पछिल्लो पाँच दिनमै ४ सय ४४ जना बिरामी थपिएपछि उपचारमा समस्या भएको प्रतिष्ठानले जनाएको छ । जसमा १ सय ७२ जनालाई भर्ना गरेरै उपचारमा राखिएको छ । असोज २० गतेसम्म यो संख्या २ सय बढी रहेको सूचना अधिकारी भट्रराईले बताउनुभयो ।
३४ इमेरजेन्सी बेड रहेकोमा दशै अघिमात्रै प्रतिष्ठानले तीन वटा बेड थप गरेको थियो । तर बिरामीको चाप बढेपछि केहीलाई भुईंमै राखेर उपचार गरिएको ईमरजेन्सी वार्डका डा. प्रदिप पुढासैनीले जानकारी दिनुभयो । ‘केहीलाई भुईंमा राखेर पनि उपचार गरियो, तर समस्या भयो, यहाँ राख्ने बेड नभएको र बेड थप गर्ने ठाउँ पनि नभएकाले रिफर गर्न थालेका हौ ।’–डा पुडासैनीले भन्नुभयो । उहाँकाअनुसार अहिले दैनिक ५–७ जना गम्भीर बिरामी नेपालगञ्ज, बुटवल रिफर गर्नुपरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वटा भवनबाट सेवा प्रदान भइरहेको छ । एउटामा शैक्षिक कार्यक्रम संचालनमा छ भने दुई वटामा बिरामी उपचार सेवा । प्रतिष्ठानमा अहिले विएन, एमविविएस र एमडी पठनपाठन भइरहेको छ । भवन अभाव भएकै कारण बेड विस्तार गर्न समस्या भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले ठाउँ अभावका कारण बेड थप गर्न नसक्दा नजिकको अस्पताल छोडेर बाहिर जानुपर्ने वाध्यता रहेको बिरामीका आफन्त जीवन चौधरीले गुनासो गर्नुभयो ।




जयनारायण पुन