अपाङ्गता भएका व्यक्तिहरूको समस्या र चुनौतीहरू धेरै भएपनि यस किसिमको सवालमा नागरिक समाज र सञ्चार क्षेत्रबाट पैरवी कम भएकोले उनीहरूको अधिकारका लागि पैरवी गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयको आयोजनामा गरिएको विकासका लागि नागरिक समाज तथा सञ्चारजगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूले अपाङ्गता भएकाहरूको विषयमा पैरवी गर्न प्रतिबद्धता समेत जनाएका छन् ।
बहिराहरू अध्ययन गर्ने स्वावलम्बन आधारभूत विद्यालयका प्रधानाध्यापक तथा धादिङ बहिरा सङ्घका अध्यक्ष रामप्रसाद अधिकारीले बहिरा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै समस्या हुँदापनि समाजले घृणाको दृष्टिले हेर्ने गर्दा थप समस्या आउने गरेकोले उनीहरूको लागि सरकारले विषेश रूपले सहयोग गर्नु पर्ने बताए ।
बहिरा तथा अपाङ्गता भएका महिलाहरूको अवस्था दयनीय भएको र उनीहरूमाथि घरेलु हिंसा, हुने गरेकाले उनीहरूको अधिकारका लागि नागरिक समाजले समेत आवाज उठाउनु पर्नेमा निता कट्टेल अधिकारीले जोड दिइन् ।
अपाङ्ग अधिकारकर्मी राजु रेग्मीले गत साउनदेखि अपाङ्गता परिचयपत्र वितरण नहुँदा समस्या आएको र अपाङ्गता भएकाहरूका लागि स्थानीय सरकारले अधिकारमूखी कार्याक्रम ल्याउन नसकेको बताए ।
नेपाल पत्रकार महासङ्घका सचिव राजाराम शर्माले सञ्चार क्षेत्रले सञ्चार माध्यामबाट पैरवी गर्दै सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिए ।