अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गते रूपन्देहीको बुटवलमा “स्थानीय समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि सम्बन्धित निकायलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम” (कियोस) परियोजना अभिमूखीकरण कार्यक्रम सुरू गरिएको छ ।

इन्सेककी अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले कियोस परियोजनाले जिम्मेवार नियकालाई जबाफदेही बनाउँदै जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूति गर्ने कार्य भएको हुँदा इन्सेककर्मी जिम्मेवारीका साथ आआफ्नो थप सक्रिय भएर लाग्नुपर्ने बताइन् ।
सङ्घीय र प्रदेश सरकारले बनाउने ऐन तथा कानुनहरू जनमैत्री छन्/छैनन् भन्ने कुराको खोजी गरी इन्सेककर्मीले जनस्तरसम्म जनचेतना फैलाउनु पर्नेमा उनले जोड दिइन् ।
द्वन्द्वपीडित, असाहय बालबालिका र आर्थिक रूपले विपन्न जनसमुदायको हक अधिकारका लागि निगरानी गर्नुपर्ने उल्लेख गर्दै उनले सबै क्षेत्रमा समान सहभागिता र वितरण भएनभएको कुरामा निगरानी गर्न जरूरी रहेको इन्सेककी अध्यक्ष डा. श्रेष्ठले बताइन् ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्थानीय जनप्रतिनिधिलाई सचेत गराउँदै सरोकारवाला निकायलाई जबाफदेही बनाउन यो परियोजनाको मुख्य लक्ष्य रहेको बताए ।
सन् २०१२ बाट सुरू गरिएको यो परियोजनामार्फत सञ्चालित कार्यक्रमको माध्यमबाट जनाताको आधारभूत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको परिपूर्ति भएको उल्लेख गर्दै उनले जनताको अधिकारका लागि इन्सेककर्मीले जनस्तरसम्म अभियान सञ्चालन गर्नुपर्ने बताए ।
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी ऐन तथा कानुनबारे जनकारी गराउनेदेखि जिम्मेवार निकायलाई जबाफदेही बनाउने जिम्मेवारी इन्सेककर्मी तथा अधिकारकर्मीको काँधमा रहेको उनको भनाई छ ।
इन्सेकको प्रलेख तथा प्रसार कार्यक्रम प्रमुख मदन पौडेलले संविधानको मौलिक हकमा संवैधानिक रूपमा व्यवस्था गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूतिका लागि स्थानीय सरकारको भूमिका र स्थानीय सरकारले पाउने ती अधिकारका सवालमा प्रस्तुति गरेका थिए ।
त्यस्तै इन्सेक पिएमइ प्रमुख सुवेच्छा खड्काले कियोस परियोजनाको उद्धेश्य, योजना गतिविधि र मेथोडोलोजीका बारेमा उल्लेख गर्दै कर्मचारीको भूमिका र जिम्मेवारी निर्वाह गर्नु पर्ने विषयमा सहजिकरण गरेकी थिइन् ।
कार्यक्रममा इन्सेकका सात ओटै प्रदेशका संयोजक र सहजकर्ताहरूको उपस्थिति रहेको छ । यो कार्यक्रम पुस ६ गते सम्पन्न हुने इन्सेक पिएमइ प्रमुख खड्काले बताइन् ।