INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालले अक्सिजन बिक्री रोकेपछि बिरामीले चर्को मूल्य तिरेर किन्न बाध्य

राप्ती प्रादेशिक अस्पतालले अक्सिजन बिक्री बन्द गरेपछि बिरामीहरुले बजारबाट चर्को मूल्य तिरेर किन्न बाध्य छन् । एउटै सिलिण्डरमा ५ सय बढी शुल्क तिर्नु परेको भन्दै बिरामीहरुले अस्पतालबाटै सेवा उपलव्ध गराउन माग गरेका छन् ।

राप्ती प्रादेशिक अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट छन् । तर मेसिनमा पटक पटक समस्या आइरहेको भन्दै अस्पतालले ०८१ माघदेखि भर्ना भएका बाहेक अरु बिरामीलाई अक्सिजन बिक्री बन्द गरेको छ । अस्पतालबाट अक्सिजन पाउन छोडेपछि अहिले बजारबाट खरिद गर्दा ५ सय बढी शुल्क तिर्नु परेको पीडित तुलसीपुर उमनपा–९ का रामबहादुर खत्रीले बताउनुभयो । अस्पतालले एउटा सिलिण्डरमा एक पटक अक्सिजन भरेको ६ सय शुल्क लिन्थ्यो । तर अहिले रामबहादुरले त्यही सिलिण्डर बजारमा १ हजार १ सय रुपियाँमा भर्नुपरेको बताउनुभयो । ‘मेरो ९० वर्षीय बुबा दमको बिरामी हुनुहुन्छ, मैले नियमित अक्सिजन भरेर घरमा राख्नुपर्छ, रामबहादुरले भन्नुभयो,– ‘अस्पतालले सिलिण्डर भर्न बन्द गरेपछि बाहिर भर्दा हामीलाई आर्थिक भार परेको छ । यो सुविधा अस्पतालबाटै दिए हुन्थ्यो ।’

Photo 2025-09-19 Dang

दमका बिरामीमात्रै होइन अक्सिजन बोकेर हिँड्नुपर्ने एम्बुलेन्स समेत महँगो शुल्क तिर्न बाध्य भएका छन् । एम्बुलेन्सहरुले महँगोमा अक्सिजन भर्दा त्यसको आर्थिक भार पनि बिरामीलाई नै पर्ने गरेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । बिरामीका आफन्तहरुले अस्पतालमा उत्पादन हुँदाहुँदै निजी उत्पादनको बिक्रीलाई बढावा दिन जानी जानी अस्पतालमा अक्सिजन बिक्री बन्द गरिएको आरोप लगाएका छन् । उक्त आरोप अस्पतालले भने अस्विकार गरेको छ । अस्पतालमै अक्सिजन पुर्‍याउन समस्या भएपछि ०८१ माघ ७ गते सार्वजनिक सूचना जारी गरेर अक्सिजन बिक्री बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले बताउनुभयो । उहाँले अक्सिजन प्लान्टमा समस्या आइरहेपछि अस्पतालभित्रै अक्सिजन अभाव हुन थालेपछि बिक्री बन्द गरिएको बताउनुभयो । ‘हामीसँग दुईवटा मेसिन थिए तर एउटा अहिले चल्ने अवस्थामा छैन, अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीले भन्नुभयो,–‘ एउटा मेसिनबाट उत्पादन गरेको अक्सिजन अस्पतालभित्रै पुर्‍याउनुपर्छ, अस्पतालमै समस्या नआओस् भनेर बिक्री रोकिएको हो ।’

अन्य

भिडियो