विराटनगर महानगरपालिका ४ स्थित नोवेल अस्पताल अगाडि औषधि पसल सञ्चालन गर्दै आएका व्यवसायीले चन्दा आतङ्क मच्चाएको आरोपमा विराटनगर महानगरपालिका ७ का काले भनिने अन्दाजी २८ वर्षीय विश्वास मण्डल र उनको समूहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
चन्दा नदिएको आरोपमा विश्वास मण्डलले ०८२ असोज ६ गते नोवेल अस्पताल अगाडि मायालु फार्मेसी सञ्चालन गर्दै आएका २५ वर्षीय सुभाषप्रसाद सिंह गन्गाईलाई चक्कु प्रहार गरेर घाइते बनाएपछि औषधि पसल सञ्चालकहरुले विश्वास मण्डलसहित उनको समूहविरुद्ध असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।
चक्कु प्रहार घटनाका आरोपित विश्वास मण्डललाई असोज ६ गते राति नै गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी चुडाँलले बताउनु भयो ।
हप्तैपिच्छे चन्दा आतङ्क मच्चाउने गरेको आरोपमा पीडितहरुले विश्वास मण्डलसहित उनको समूहका अन्दाजी २५ वर्षीय विश्वास मण्डल, २६ वर्षीय श्याम चन्द्रवंशी , २४ वर्षीय सुरज पासवान, २७ वर्षीय अरुण यादव र २१ वर्षीय सायद अन्सारीविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।
चन्दा आतङ्क मच्चाउने गरेका विश्वास मण्डलले असोज ६ गते राति मायालु फार्मेसीका सञ्चालक २५ वर्षीय सुभाषप्रसाद सिंह गन्गाईलाई चक्कु प्रहार गरेर घाइते बनाएको पीडितका दाजु शिवमकुमार गन्गाईले मण्डलले बताउनु भयो । उहाँले विश्वास मण्डलविरुद्ध असोज ६ गते भाइको ज्यान मार्ने उद्योगमा छुट्टै किटानी जाहेरी समेत दिएको बताउनु भयो । चक्कु प्रहारबाट घाइते भएका सुभाषप्रसाद सिंह गन्गाईको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।
चन्दा आतङ्क मच्चाएको र सांघातिक हमला गरेको आरोपमा युमा मेडिकका चन्दनकुमार साह, शिवाय फार्मेसीका पंकज साह, नमस्कार फार्मेसीका पिन्टु यादव, मायालु फार्मेसीका सुभाषप्रसाद सिंह, जानकी फार्मेसीका नित्यराज सहनी, जस्मिन फार्मेसीका संजयकुमार यादव, ओम शान्ति फार्मेसीका दीपक साह र राजु कृष्ण फार्मेसीका कृष्ण साहले विश्वास मण्डल र उनको समूहविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।
औषधि व्यवसायीको उजुरीपछि मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।