नेपाल महिला सङ्घले राजविराज नगरपालिका–६ का वडा अध्यक्ष प्रेमकुमार यादवमाथि कारवाहीको माग गर्दै राजविराजमा मङसिर २४ गते प्रदर्शन गरेको छ ।
वडा अध्यक्ष यादवले हालै राजविराज नपा–६ स्थित एक होटलमा बालिकाबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसको भगिनी सङ्गठन महिला सङ्घले जुलुस प्रदर्शन गर्दै नगर परिक्रमा गरेको हो । यादव तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
महिलाहरूप्रति अमर्यादित र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रदर्शनकारीहरूले वडा अध्यक्ष यादवको निलम्वनको माग गर्दै सिडिओ सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाए ।
वडा अध्यक्षले दिएको अभिव्यक्तिको चार सेकेण्डको भिडियो रेकर्ड प्राइम टाइम टेलिभिजनमा प्रसारण भएपछि राजविराजमा नेपाली कांग्रेस आन्दोलित भएको छ ।
सङ्घकी नगर अध्यक्ष ललीता कर्णद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्तिले सम्पूर्ण जनप्रतिनिधि र नगरवासीको शीर निहुरिएको तथा चेलीहरूको अपमान भएकाले तत्काल उनलाई निलम्बन गरी उचित छानबिन गरेर कारवाही गर्न माग गरिएको छ ।
उनीहरूले मङसिर २४ गते नै राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा सार्वजनिक शिष्टाचार तथा नैतिकता विपरीत आचरण र अभिव्यक्ति दिने वडा अध्यक्ष यादवलाई सात दिनभित्र निलम्बन नगरिए आन्दोलन चर्काउने चेतावनी दिइएको छ ।
वडा अध्यक्ष यादवको अभिव्यक्ति मानव तस्करी र यौन धन्दालाई प्रोत्साहित गर्ने किसिमको भएकाले कारवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ । दुवै ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय मानव अधिकार आयोगलाई पनि दिइएको छ ।