बलात्कार मुद्दामा जिल्ला अदालतले धरौटीमा रिहा गरेका आरोपितले पीडित महिलालाई मुद्दा फिर्ता लिन धम्की दिन थालेको पीडितले आरोप लगाएकी छन् ।
सिद्धलेक गाउँपालिका–२ का ६५ वर्षीय भक्तबहादुर योगिले धरौटीमा रिहा भएपछि आफूलाई धम्क्याएको र मुद्दा फिर्ता गरी गाउँमा बस्न धम्की दिएको पीडितले मङ्सिर २१ गते इन्सेक प्रतिनिधिलाई जानकारी दिइन् । आफूले न्याय खोजेको बताउँदै पीडितले न्याय दिलाउन र आफूमाथि सुरक्षा कायम गर्न इन्सेक प्रतिनिधिमार्पmत प्रशासनसमक्ष अपिल गरेकी छन् ।
पीडितलाई बाटोमा हिँड्दा र घरमै आएर समेत आरोपितले धम्की दिने गरेको पीडितले बताएकी छिन् । वौद्धिक अपाङता भएकी २७ वर्षीया महिलालाई आरोपितले गत साउन २० गते बलात्कार गरेको र भदौ २६ गते समेत बलात्कार गरेको आरोप लगाउँदै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको असोज १ गते मुद्दा दर्ता गरी अनुसन्धान भएकोमा जिल्ला अदालतले असोज २३ गते आरोपितलाई ५० हजार धरौटीमा रिहा गरेको थियो । अदालतबाट छुटेपछि पटकपटक धम्की दिएकाले आफू असुरक्षित भएको पीडितले बताइन् ।