INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाको कसुरमा ३ वर्ष ६ महिना कैद सजाय

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–५ का ३५ वर्षीय जिवछ राम र विष्णुपुर गाउँपालिका–३ का ३० वर्षीय इसराइल मियाँलाई जिल्ला अदालतले मङसिर १९ गते ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलाशले आरोपितहरूमाथि दायर बलात्कारको मुद्दालाई जबरजस्ती करणी उद्योगमा परिणत गर्दै सामूहिक रूपमा बलात्कार प्रयास गरेको आरोपमा ३ वर्ष ६ महिना कैद सजाय गरेको हो ।

पीडित महिलालाई आरोपितहरूले ०७४ फागुन २५ गते बिष्णुपुर गाउँपालिका–५ मा आरोपितहरूले नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन २७ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिंह सगरमाथा अञ्चल अस्पतालमा फागुन २७ गते गरिएको थियो । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते दर्ता गरेको थियो ।

आरोपित राम र मियालाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट ०७४ चैत ४ गते गिरफ्तार गरी सप्तरी ल्याएको थियो ।

सामाजिक परम्परा अनुसार २०७१ सालमा विवाहिता पीडितका पति रोजगारका लागि भारतमा छन् भने छोराछोरी भएका छैनन् । जिल्ला अदालतको आदेशमा आरोपितहरू चैत २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

अन्य

भिडियो